काठमाडौंका सार्वजनिक स्थानहरूमा मौलिक भित्तेचित्र

काठमाडौंका सार्वजनिक स्थानहरूमा मौलिक भित्तेचित्र

केन्द्रबिन्दु
42
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाभित्रका सार्वजनिक पर्खालका भित्ताहरुमा कलात्मक चित्र कोरिन थालेका छन्। महानगरपालिकाले ललितकला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा भित्तेचित्र लेखन कार्य सुरु गरेको हो।

महानगरले यसका लागि २०८० फागुन १७ गते नै सम्झौता गरेर कार्य अगाडि बढाएको हो। सम्झौता बमोजिम चित्र लेखनका लागि कलाकार र यससँग सम्बन्धित संघसंस्थाको छनोट प्रतिष्ठानले गरेको हो।

अहिले सुन्धारा क्षेत्रमा चित्र बनाउने कार्य भइरहेको छ। यसपछि त्रिपुरेश्वर रङ्गशालाको भित्तो, माइतीघरबाट बबरमहल जाँदा दायाँतर्फको भित्तो, प्रदर्शनी मार्गका भित्ताहरु, अन्तर्राष्ट्रिय विमानस्थल बाहिर, बानेश्वर मीनभवन, लैनचौर समाज कल्याण परिषद्को भित्ताहरुलगायतका स्थानमा मौलिक कला र संस्कृति झल्किने खालका आकर्षक चित्र कोरिने महानगरले जनाएको छ। जसले सहरी सौन्दर्यतालाई बढवा दिनेछ।

चित्र लेखन गर्दा स्थानअनुसारका आकृतिलाई प्राथमिकता दिइने छ। रङ्गशाला क्षेत्रमा खेलकुदसँग सम्बन्धित, अन्तर्राष्ट्रिय विमानस्थल बाहिर नेपालका जातजाति तथा भेषभुषा विम्बित हुने चित्र कोरिनेछन्।

मौलिकताका लागि कोरिने चित्रहरुमा इन्द्र जात्रा, जात्राका अवसरका प्रदर्शन गरिने परम्परागत नृत्य, भेषभुषा, बादन, काठमाडौं चिनिने भौतिक सम्पदालगायतका आकृति हुने प्रतिष्ठानले जनाएको छ।

यसरी कोरिएका चित्र जोगाउन नागरिक तहबाट दायित्व निर्वाह हुने महानगरपालिकाले अपेक्षा गरेको छ। चित्र भएका भित्तामा नछुने, कुनै रङ्ग नछर्किने, पोष्टर वा कागज नटाँस्ने, चित्रसँग तस्विर खिच्दा नटाँसिइ अलग्गै खिच्न, अन्य कुनै वस्तुले नलेख्न महानगरपालिकाले नागरिकलाई आग्रह समेत गरेको छ।

Logo