कर्णाली प्रदेश : दुई अर्बभन्दा बढी रकमान्तर, ५४ गाडी खरिद

कर्णाली प्रदेश : दुई अर्बभन्दा बढी रकमान्तर, ५४ गाडी खरिद

केन्द्रबिन्दु
0
Shares

सुर्खेत,

आर्थिक वर्ष सकिनै लाग्दा कर्णाली प्रदेशका विभिन्न मन्त्रालयले दुई अर्बभन्दा बढी रकमान्तर गरेका छन् । हालसम्म ७.३७ प्रतिशत मात्रै विकास बजेट खर्च गर्न सकेको प्रदेश सरकारले रकमान्तर गरेको बजेट मध्येबाट ५४ वटा सवारीसाधन खरिद गरेको छ ।

साबिकका क्षेत्रीय तथा जिल्लास्थित कार्यालयका साथै संघीय सरकारले पठाएका सवारीसाधन पर्याप्त हुँदाहुँदै प्रदेश सरकारले पूर्वाधार निर्माण र कृषकसँग प्रत्यक्ष सरोकार राख्ने बजेटसमेत रकमान्तर गरी सवारीसाधन गरिद गरेको हो ।

प्रदेश सरकारका विभिन्न मन्त्रालयले हालसम्म ४२ वटा नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिद गरिसकेका छन् । १२ वटा सवारीसाधन खरिद प्रक्रियामा छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार सातवटै मन्त्रालय, प्रदेशसभा सचिवालय र मुख्य न्यायाधिवक्ताको कार्यालयले जेठ १५ सम्म दुई अर्ब तीन करोड रुपैयाँ रकमान्तर गरेका छन् । रकमान्तर गरिएको बजेटमध्येबाटै मन्त्रालयले गाडी खरिद गरेका हुन् ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालू आर्थिक वर्ष सकिनै लाग्दा ४४ करोड ५३ लाख ४४ हजार रुपैयाँ रकमान्तर गर्यो । रकमान्तर गरिएको मध्येबाट तीन करोड ४० लाख रुपैयाँमा मन्त्रालयले नयाँ गाडी खरिद प्रक्रिया सुरु गरेको छ । ‘गाडी खरिदका लागि चालू आर्थिक वर्षमा एक करोड १५ लाख रुपैयाँ छुट्याइएको थियो’, मन्त्रालयका एक कर्मचारीले भने, ‘जिल्लाहरुमा पठाइएको रकम खर्च नहुने देखिएपछि थप गाडी खरिदका लागि तीन करोड ४० लाख रुपैयाँ रकमान्तर गरिएको छ ।’
नागरिकबाट

Logo