पोखरा,
उच्च नेतृत्वलाई राजनीतिक प्रभावमा पार्दा वा सही सन्देश नदिँदाको परिणाम कस्तो हुन्छ भन्ने पुष्टि पोखरास्थित होटल उद्घाटनको कार्यक्रमबाट भएको छ ।
शनिबार होटल उद्घाटन गर्न पोखरा आएका प्रधानमन्त्री केपी शर्मा ओली नराम्रोसँग चुके । सो घटनालाई धेरैले कच्चा शैली भनेर टिप्पणी गरे । प्रधानमन्त्री ओली शनिबार होटल उद्घाटन, स्काउट सम्मेलन र रवीन्द्र अधिकारी प्रतिष्ठान घोषणामा सहभागी हुने कार्यक्रम थियो । उनको पहिलो कार्यक्रम लेकसाइडस्थित स्विस इन्टरनेसनल होटल सरोवर उद्घाटन गर्ने थियो । लगत्तै स्काउट र अन्तिममा प्रतिष्ठानको कार्यक्रममा सहभागी हुने तालिका थियो ।
कार्यतालिका बमोजिम ओली बिहान साढे १० बजे होटल प्रवेश गरेका थिए । प्रधानमन्त्री आएपछि उद्घाटन सत्र चल्ने भन्दै अन्तिम तयारी गरियो । भुइँतलाको हलमा सबै पाहुना र सञ्चारकर्मी पु¥याइए । प्रधानमन्त्री आउन थालेको भन्दै सुरक्षा कडाइबीच कार्यक्रमको तयारी थालियो । संघीय र प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य लगायत उच्च नेतृत्व र पाहुना हलमा पु¥याइए । तर प्रधानमन्त्रीले आराम गर्न लागेको भन्दै कार्यक्रम पछाडि सारियो । त्यसपछि पाहुनालाई खाना खुवाएर कार्यक्रम गर्ने भन्दै झन्डै दुई घन्टा पर्खाइयो । अन्ततः प्रधानमन्त्री ओली होटल उद्घाटनै नगरी बाहिरिए ।
सबैभन्दा माथिल्लो तलामा दुई घन्टा बसेर खाना खाइवरी होटलको संरचना बुझेर ओली उद्घाटन नगरीकनै फर्किएका थिए । होटलमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहितका मन्त्रीहरू, पर्यटन व्यवसायीसहित उच्च सरकारी कर्मचारी सहभागी थिए ।
स्विस इन्टरनेसनल होटल सरोवर भुइँसहित १० तलाको भवन हो । यो होटल भवन बनेदेखि नै पोखरामा मापदण्डविपरीत भन्दै चर्चा बढेको थियो । होटल सञ्चालक प्राध्यापक भरतराज पहारी हुन् । उनी पोखरा महानगरपालिकाको मापदण्ड निर्धारण समितिका संयोजक पनि हुन् । मापदण्ड निर्धारण समितिका पदाधिकारीले नै त्यसरी होटल बनाएको भन्दै आलोचना हुँदै आएको थियो । त्यही होटल उद्घाटन गर्न प्रधानमन्त्री आउने भएपछि आलोचनाले झन् चर्को रूप लिएको थियो । आलोचना हुँदाहुँदै प्रधानमन्त्री होटल उद्घाटन गर्न आएका थिए ।
‘पहिलो कुरा, मापदण्डविपरीत बनेको होटल उद्घाटन गर्न प्रधानमन्त्री आउनै हुन्नथ्यो,’ एक अग्रज व्यावसायीले भने, ‘निजी कार्यक्रममा आउनु फरक होला तर मापदण्डविपरीत पूर्वाधार बनेको छ भन्ने थाहा पाउँदापाउँदै पनि उद्घाटन गर्न आउनु कमजोरी हो ।’ प्रधानमन्त्रीलाई थाहै नदिई राजनीतिक प्रभावमा पारेर होटल उद्घाटन गर्न बोलाएको भन्दै ती व्यावसायीले आलोचना गरे ।
नागरिकबाट
प्रतिक्रिया