गृहका अधिकृतविरुद्ध दुई करोडको अकुत सम्पत्ति मुद्दा

गृहका अधिकृतविरुद्ध दुई करोडको अकुत सम्पत्ति मुद्दा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

जागिर खाएको १६ वर्षको अवधिमा एक अधिकृतले दुई करोड रुपैयाँभन्दा धेरै गैरकानुनी सम्पत्ति आर्जन गरेका छन् । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा कार्यरत अधिकृत रमाकान्त अर्यालले अस्वाभाविक सम्पत्ति आर्जन गरेका हुन्  । अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अर्याल २३ भदौ २०५९ सालमा निजामती सेवामा प्रवेश गरेका थिए । पछिल्लो समय उनी अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थिए । त्यहीँ रहेका वेला उनीविरुद्ध उजुरी परेपछि आयोगले छानबिन गरेको थियो । गत वर्षसम्म उनको सम्पत्ति चार करोड ५६ लाख ८१ हजार आठ सय ४१ रुपैयाँ रहेको पाइएको थियो । त्यसमध्ये दुई करोड ६ लाख ८९ हजार एक सय ११ रुपैयाँबराबरको सम्पत्तिको स्रोत नखुलेपछि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

जागिरको अवधिमा अध्यागमन कार्यालय लगायत उनी अतिरिक्त कमाइ हुने कार्यालयमा बसेका थिए । अख्तियारको छानबिनपछि अध्यागमनबाट उनको गृहमा सरुवा भएको थियो । अर्यालले धेरैजसो सम्पत्ति श्रीमती सरिता नेपालको नाममा राखेका थिए । श्रीमतीको नाममा सेयर खरिददेखि घर निर्माणसम्म गरेको आयोगले जनाएको छ । अर्यालकी श्रीमती विरुद्धसमेत आयोगले मुद्दा दायर गरेको छ ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo