शक्तिशाली धामी बन्न नर बलिका रूपमा एक जना बालकको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनुषा जिल्ला मिथिला नगरपालिका वडा नं ६ का फेकु महतोका छोरा ५५ वर्षीय शत्रुधन महतो रहेका छन्। पक्राउ गरिएका महतोलाई जिल्ला प्रहरी कार्यालय धनुषामा आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ।
गत वैशाख २३ गते बेलुका ५ बजे महतोले मिथिला नगरपालिका वडा नं ६ का शम्भुकुमार साहका छोरा साढे दुई वर्षीय आर्यन भन्ने समीरकुमार साहलाई आफ्नो घरको ढोकामा फूलको बोट नजिक खेलिरहेको अवस्थामा ललाइफकाइ गर्दै अपहरण गरी आफ्नो घरमा बन्धक बनाई राखी भोलिपल्ट वैशाख २४ गते बिहान चमेनिया माय भन्ने देवताका नाममा नर बलिका रूपमा नियतपूर्वक आफ्नै घर आँगनमा धारिलो हतियारले बालकको घाँटी रेटी मारेको जनाइएको छ। मृतक बालकका आमा रेणुदेवी साह घाँस काट्न गएको अवस्थामा घरमा कोही नभएको मौका छोपी बालकलाई फकाइ अपहरण गरी बन्धक बनाएको थियो ।
बालकको हत्यापछि महतोले बालकको शवलाई बालकको घर पछाडि रहेको कृष्णनन्दन महतोको रूख बिरूवासहितको खेतको झारीमा फालेका प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। महतोले विगत दुई वर्षदेखि धामीझाँक्री सिक्दै आएका थिए।
मृतकका हजुरबा पीताम्बर साहले महतोका नाममा अपहरण गरी शरीर बन्धक राखी मारेको ज्यानसम्बन्धी कसूरमा जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दर्खास्त दिएका आधारमा महतोलाई हिजो आफ्नै घरमा फेला पारी कानूनबमोजिम पक्राउ गरिएको बताइएको छ ।





























प्रतिक्रिया