नौ महिनादेखि पशुपतिनाथ मन्दिर बन्द गरिँदा कोषलाई ७० करोड घाटा

नौ महिनादेखि पशुपतिनाथ मन्दिर बन्द गरिँदा कोषलाई ७० करोड घाटा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नौ महिनादेखि पशुपतिनाथ मन्दिर बन्द गरिँदा पशुपति क्षेत्र विकास कोषलाई करोडौं आय घाटा लागेको छ । कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापा विकास निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबाट बजेट आउने गरे पनि कोषका कर्मचारीलाई तलब खुवाउन पर्यटकलाई दिने टिकट र भेटीघाटीबाट उठेको स्रोतबाट नै पुर्याउनु पर्ने बाध्यता भएकाले कठिन दिन आएको बताए ।

पशुपति क्षेत्रमा रहेका फूल प्रसाद बेच्ने पसल नौ महिनादेखि बन्द छन् । पसल बन्द हुँदा व्यापारीले कोषलाई भाडा तिरेका छैनन् । पशुपति क्षेत्रमा रहेका पर्यटकीय काउन्टर समेत बन्द छन् । नौ महिनाको अवधिमा कोषलाई करिब ७० करोड घाटा लागेको कार्यकारी निर्देशक डा घनश्याम खतिवडा बताउँछन् ।

पशुपति क्षेत्रमा घाट सेवा भने नियमित रुपमा सञ्चालनमा छ । कोरोनाबाट निधन भएकाको शवदाह गर्न विद्युतीय शवदाह गृहमा विशेष व्यवस्था गरिएको छ । घाट सेवामा भने कोषले उदाहरणीय काम गरेको प्रतिक्रिया सेवाग्राहीको छ । बन्दाबन्दीको शुरुमा घाटमा कम शव आएपनि पछिल्लो समय सङ्ख्या बढ्न थालेको छ ।

असोजदेखि नै भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पशुपतिनाथ मन्दिर खोलिनु पर्ने माग गर्दै विश्व हिन्दू महासङ्घको नेतृत्वमा दर्जनौँ धार्मिक संस्था सहभागी भई पशुपति क्षेत्रमा बिरोध प्रदर्शन शुरु भएको थियो । पछिल्लो समय मन्दिर दक्षिणढोका बाहिर बेलुकी दीप प्रज्ज्वलन गरी मन्दिर खोल्नु पर्ने माग राखी साङ्केतिक प्रदर्शन भइरहेको थियो ।

कोषका सदस्यसचिव डा प्रदीप ढकाल भौतिक दुरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर राष्ट्रदेवको दर्शन गर्न पाउनु पर्ने भक्तजनको माग अनुसार नै पुस १ गते बुधबारदेखि मन्दिर खोल्न लागिएको बताउँछन् । नौ महिनासम्म भक्तजनका लागि मन्दिर बन्द गर्नु पर्दा क्षमा माग्न मङ्गलबार बिहान क्षमा पूजा गर्न लागिएको जानकारी पनि उनले दिए ।

पहिलो चरणमा पुस १ गतेदेखि मन्दिरको पश्चिम ढोकाबाट भक्तजन प्रवेश गराई दर्शन गराएर पश्चिम ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य रुपमा मास्क लगाउनु पर्नेछ । मन्दिर बुधबारदेखि खुलेपनि मन्दिरभित्र हुने विशेष पूजा, भजन लगायत क्रियाकलाप भने तत्काल शुरु हुने छैन ।

“महामारीको सङ्कटकाबीच विभिन्न विषयमा बाँधिएर काम गर्न बाध्य भयौँ, बुधबारदेखि मन्दिर खुलेपछि स्वास्थ्य सुरक्षाको विधि अपनाएर बन्दरहेको विशेष पूजा, भजन लगायत गतिविधि पनि क्रमशः सञ्चालनमा ल्याउने छौँ”–सदस्य सचिव ढकालले भने ।
कोरोनापछि अन्य क्षेत्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर खुला गरिए पनि पशुपतिनाथ लगायत मठ, मन्दिर, चैत्य, गुम्बा भौतिक दूरी कायम गरी खुला गर्नुपर्ने माग गर्दै असोजदेखि पशुपति क्षेत्रमा विश्व हिन्दू महासङ्घको नेतृत्वमा साङ्केतिक बिरोध प्रदर्शन भइरहेको थियो । बुधबारदेखि मन्दिर खोल्न लागिएकामा ती संस्थाले पनि मङ्गलबार पशुपति क्षेत्र परिसरमा विशेष पूजा आराधना गर्दैछन् ।

इतिहासमा पशुपतिनाथ मन्दिर नौ महिनासम्म बन्द रहेको प्रामाणिक तथ्य वंशावली लगायत ग्रन्थमा नपाइएको पशुपति क्षेत्रका सांस्कृतिक सम्पदाका विषयमा विद्यावारिधि शोध गरेको कोषका पूर्व सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए ।

नौ महिने यो अवधिमा धेरै पर्यटक आउने साउन महिना, हरितालिका (तीज) र बाला चतुर्दशी पर्वमा पनि भक्तजनले मन्दिर बाहिरैबाट परिक्रमा गरेर चित्त बुझाउन बाध्य हुनु परेको थियो । यी पर्वमा लाखौँ भक्तजन पशुपतिनाथ मन्दिरमा आउने गर्थे । भक्तजन नआउने भएपछि पशुपति क्षेत्र वरपरको बजारको व्यापारमा समेत कमी आएको छ ।

साउन महिना, हरितालिका (तीज) र बाला चतुर्दशी पर्वमा पशुपति क्षेत्रमा विशेषगरी नयाँ बजारसमेत सञ्चालनमा आउने गरेकामा यस वर्ष त्यो समेत प्रभावित भएको छ । पशुपति क्षेत्र वरपर खुलेका ठूला साना होटल पनि यसबीचमा प्रभावित भए ।

पशुपतिनाथ मन्दिरसँगै विश्वकै प्रसिद्ध शक्तिपीठ गुह्येश्वरी पनि पुस १ गते बुधबारदेखि भक्तजनलाई दर्शनका लागि खुला गरिने भएको छ । पशुपति क्षेत्रका चन्द्रविनायक लगायत मन्दिर, चैत्य पनि बुधबारदेखि नै भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर खुला गर्ने गरी तयारी भएको छ ।

नौ महिनापछि मन्दिर खुला गर्न लागिएकामा स्थानीयवासीसमेत उत्साहित भएका छन् । पुस १ गतेदेखि विशेषरुपमा साजसज्जा गरी भक्तजनलाई स्वागत गर्ने तयारी भएको छ । तयारीका लागि सोमबार कोषले स्थानीयवासीसँग बैठक गरेको छ । बैठकपछि स्थानीयवासीसँगको सम्बन्ध थप सुमधुर भएको कोषका कर्मचारीहरु बताउँछन् ।

Logo