सरकारले आर्थिक वर्ष ०७६/७७ को बजेट आज प्रस्तुत गर्दै

सरकारले आर्थिक वर्ष ०७६/७७ को बजेट आज प्रस्तुत गर्दै


काठमाडौँ,
सरकारले आर्थिक वर्ष २०७६/७७ का निम्ति बजेट प्रस्तुत गर्दैछ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारका तर्फबाट संसदमा आज बुधबार बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार सरकारले आज बजेट ल्याउन लागेको हो ।

सरकारले आगामी आर्थिक वर्षका निम्ति करिब पौने १६ खर्ब रुपियाँको बजेट प्रस्तुत गर्ने स्रोतको भनाइ छ । यसअघि राष्ट्रिय योजना आयोगले १४ खर्ब ९३ अर्ब रुपियाँको बजेट सिलिङ तोकेको थियो । तर योजनाको माग उच्च रहेको र त्यसलाई सम्बोधन गर्न दबाब बढेका कारण सिलिङभन्दा बढीको बजेटको आकार हुने स्रोतले बतायो ।

मंगलबार बजेटको पूर्ववत सिलिङमा हेरफेर गरी बजेटको आकार बढाउन सहज भएको थियो । अर्थमन्त्रीका रूपमा डा. युवराज खतिवडाको यो दोस्रो बजेट हो । उहाँले चालू आर्थिक वर्षका निम्ति गतवर्ष १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपियाँँको बजेट पेस गर्नुभएको थियो ।

आगामी बजेटमा कर्मचारीको तलबभत्ता वृद्धि, सामाजिक सुरक्षा भत्ता वृद्धिका साथै प्रत्यक्ष र समानुपातिक सांसदले खर्च गर्न पाउने कार्यक्रममा रकम वृद्धिका निम्ति बढी दबाब परेको छ । सरकारको खर्च गर्न सक्ने क्षमतामा ह्रास आई पुँजीगत खर्च न्यून रहेको स्थितिमा ठूलो आकारको बजेट ल्याउन नहुने विज्ञहरू सुझाव दिदै आएका छन् ।
नेपाल समाचारपत्रबाट

Logo