काठमाडौं,
अहिलेको बजार भाऊ अनुसार एक पैसामा कुन सामान आउँछरु यसको सिधा उत्तर हो केही पनि आउँदैन । तर वीर अस्पतालले सामान खरिद गर्न स्वीकृत गरेको बोलपत्रमा उल्लिखित मूल्य सूचि हेर्ने हो भने जो कोहिले पनि पत्याउनुपर्ने हुन्छ कि एक पैसामा ह्वीलचेयर मात्र होइन अस्पताललाई आवश्यक पर्ने कयौँ समान खरिद गर्न सकिन्छ ।
अस्पतालले वैधानिक बाटो अपनाएर नै बजार मूल्य भन्दा कयौँ गुणा कम मूल्यमा सामान तथा खाद्यान्न आपूर्ति गर्ने प्रस्ताव स्वीकृत गरेको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा राष्ट्रिय सतर्कता केन्द्रले छानविन शुरु गरेको छ । वीर अस्पतालमा भएको खरिद प्रक्रियामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा निवेदन परेको थियो ।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले उजुरी परेको जानकारी दिँदै छानविन शुरु भएको पुष्टि गर्नुभयो । उहाँले वीर अस्पताललाई पत्र पठाइ कागजपत्र मगाइएको बताउनु भएको छ । अख्तियारले वीर अस्पताललाई उपकरण तथा खाद्यान्नको लागि गरिएको बोलपत्रको स्पेसिफिकेसन, मूल्याङ्कन लगायत सम्पूर्ण कागजात पेश गर्न निर्देशन दिइसकेको छ ।
यसै विषयमा राष्ट्रिय सतर्कता केन्द्रले छानविन सुरु गरेको छ । केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले वीर अस्पतालबारे केन्द्रमा धेरै उजुरी पर्ने गरेको जानकारी दिँदै छानविन सुरु गरेको बताउनुभयो । लामिछानेले प्रारम्भिक अध्ययनमा अस्पतालको लागि रासन खरिदको बोलपत्रमा स्वीकृत कम्पनीले पेश गरेको राशन परिणामसहितको मूल्यसूची हेर्दा अहिलेको बजारभाउ अनुसार अविश्वसनीय देखिएको जानकारी दिनुभयो । केन्द्रले बिरामीलाई खुवाइने खानाको गुणस्तरमा समेत शंका उब्जाएकोले बोलपत्रसम्बन्धी सम्पूर्ण विवरण उपलब्ध गराउन वीर अस्पताललाई पत्र पठाएको थियो ।
अस्पतालले खरिदका लागि स्वीकृत दिएको मूल्यसूची:
चना प्रतिकेजी एक रुपियाँ
कुखुराको अण्डा प्रतिगोटा एक पैसा
जिरा प्रतिकेजी एक रुपियाँ
वेसार प्रतिकेजी एक रुपियाँ
लसुन,अदुवा प्रतिकेजी एक रुपियाँ
नेविको विस्कुट प्रतिपुरिया एक रुपियाँ
तोरीको तेल प्रतिलिटर एक रुपियाँ
चिनी प्रतिकेजी एक रुपियाँ
ह्वीलचेयर र ट्रली प्रतिगोटा एक पैसा
भाईभि स्टेन्ड प्रतिगोटा एक पैसा
एक्सरे भ्यू बक्स प्रतिगोटा एक पैसा
तौल मेसिन प्रतिगोटा एक पैसा
साईड पर्दा प्रतिगोटा एक पैसा
रक्तचाप नाप्ने मेसिन प्रतिगोटा एक पैसा
एसपिओटु प्रतिगोटा एक पैसा
ओटुप्लोमिटर प्रतिगोटा एक पैसा
गोरखापत्रबाट





























प्रतिक्रिया