नयाँ दिल्ली,
दोस्रो पटक कार्यभार सम्हाल्न लागेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शपथग्रहण कार्यक्रममा आफ्ना छिमेकी मुलुकका समकक्षीहरूलाई निम्त्याउने भएका छन् । उनले यस क्षेत्रका क्षेत्रीय संगठन सार्क र बिम्स्टेक दुवैका राष्ट्र एवं सरकार प्रमुखलाई निम्त्याउने निर्णय गरेका हुन् । सम्बन्धित मुलुकका दूतावासहरूले त्यस्तो निम्ता गरिसकेको कूटनीतिक स्रोतले बतायो ।
उनले २०१४ मा पहिलोपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै गर्दा सार्कका राष्ट्र एवं सरकार प्रमुखलाई निम्त्याएर छिमेकलाई प्राथमिकता दिएको संकेत गरेका थिए । तर, मोदीको पहिलो कार्यकाल छिमेकहरूसँग राम्रो सहकार्यबिनै सकिएको छ । निर्वाचनको मुखमा आएर उनले छिमेकसँग केही नरम नीति लिएर सम्बन्ध सुधारको संकेत गरेका थिए ।
मोदीले यसपटक सार्कका नेपाल, भुटान, बंगलादेश, श्रीलंका, पाकिस्तान, अफगानिस्तान र माल्दिभ्सका साथै बिमस्टेकमा रहेका थाइल्याण्ड र म्यानमारका राष्ट्र एवं सरकार प्रमुखलाई समेत निम्तो दिनेछन् । यसको औपचारिक घोषणा गर्ने तयारी रहेको कूटनीतिक स्रोतले बतायो ।
प्रधानमन्त्री केपी शर्मा ओली मोदीको शपथग्रहण कार्यक्रममा जाने तयारी गरिसकेका छन् । उनले सोमबार जानकारी पाए लगत्तै आउने जानकारी गराइसकेको अधिकारीहरूले बताएका छन् । मौखिक जानकारी भइसकेको तर औपचारिक जानकारी हुन बाँकी रहेको अधिकारीहरूले बताए ।
दिल्लीस्थित नेपाली दूतावासले भने यसबारे औपचारिक जानकारी आइनसकेको बताएको छ । तर शपथमा निमन्त्रणा गरेमा उच्चतहबाट सहभागिता हुने जानकारी भने उसले दिएको छ ।
सन् २०१४ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला मोदीको शपथग्रहणमा सहभागी भएका थिए । त्यतिबेला सार्कका सबै मुलुकबाट सहभागिता भएको थियो भने नेपालले पनि भारतले सार्कलाई महत्व दिएको बताइएको थियो । मोदीले विहिबार आफ्नो दोस्रो कार्यकालका लागि शपथ लिने कार्यक्रम छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया