वडाध्यक्ष नै कुटपिट र लुटपाटमा !

वडाध्यक्ष नै कुटपिट र लुटपाटमा !

केन्द्रबिन्दु
0
Shares

गौशाला,

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–५ का वडाध्यक्ष राकेश राउतमाथि आइतबार आफ्नै वडामा कुटपिट र लुटपाट गरेको आरोप लगाइएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार वडाध्यक्ष राउतमाथि आफ्नै वडाका एक व्यक्तिलाई निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएको तथा एक जनाको दुई लाख लुटेको आरोप लगाइएको हो ।

जलेश्वर–५ चौरिया गाउँमा स्थानीयवासी वासुकी चौधरी र शशिकान्त चौधरीबीच आपसी झै–झगडा र गालीगलौज हुँदा शशिकान्त चौधरीले वडाध्यक्षलाई फोन गरेर बोलाएपछि वडाध्यक्ष र उनीसँगै आएका ८/१० जनाको समूहले वासुकी चौधरीलाई मरणासन्न हुनेगरी कुटपिट गरेर गम्भीर घाइते बनाएको निजकी आमा महामायादेवीले आरोप लगाएको महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।

वडाध्यक्ष राउतका साथै उनीसँगै आएका सुशील राउत, दिलीप राउत, राजु शर्मा, उदय रायसहित ८/१० जनाको समूहले वासुकी चौधरीलाई विवाद समाधानका लागि वडा कार्यालयमा जान भनेको तर उनले आफू पहिला प्रहरीमा जाहेरी दिने र त्यसपछि मात्रै वडामा जाने भनेपछि वडाध्यक्ष राउतसहित पूरै समूहले उनलाई भुइँमा लछारपछार गर्दै मरनासन्न गरी कुटपिट गरेको प्रहरीले उनकी आमालाई उद्धृत गर्दै जनाएको छ ।

वडाध्यक्षसँगै हातमा लगाउने फलामको फाइबर हतियारसहित आएका उनका साथीले वासुकी चौधरीको अनुहार, टाउकोमा कुटपिट गरेपछि उनी लडेका थिए भने लडेपछि पनि बुटले उनको छाती र शरीरभरि कुटपिट गरी उनलाई गम्भीर घाइते बनाएको प्रत्यक्षदर्शी स्थानीयवासीले बताएका छन् ।

साथै उनीसँगै आएका उदय रायले इँटा उठाएर ज्यानै मार्ने प्रयाससमेत गरेको उनीहरुले बताएका छन् । अनुहार, टाउको, छाती र शरीरको अन्य भागमा चोट लागेर गम्भीर घाइते भएका वासुकीलाई जिल्ला अस्पताल जलेश्वरमा सामान्य उपचार पश्चात थप उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा पठाइएको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।
रासस

Logo