सत्तारुढ दलका नेताहरूद्वारा मिडिया विधेयकको आलोचना

सत्तारुढ दलका नेताहरूद्वारा मिडिया विधेयकको आलोचना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

सरकारद्वारा प्रस्तावित मिडिया काउन्सिल विधेयकको सत्तारुढ दलभित्रै पनि आलोचना बढ्दो छ । आइतबार सत्तारुढ नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव नेपाल, सचिवालय सदस्य वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले फरकफरक कार्यक्रममा मिडिया काउन्सिल विधेयक परिमार्जन हुने दाबी गरे ।

प्रेस संगठन नेपाल बाँकेले शनिबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले विधेयक जनताको पक्षमा नभएको भन्ने टीकाटिप्पणी आइरहेकाले वेलैमा सच्याएर पारित गर्नुपर्ने धारणा राखे । ‘विवाद र विमति रहेकै अवस्थामा यसलाई पास गर्नुहुँदैन । जनताको राय नलिएका कारण विधेयकमाथि टीका टिप्पणी भएको हो,’ उनले भने, ‘यसलाई सबैले अपनत्व महसुुस गर्ने गरी अघि बढाउनुपर्छ ।’

नेपालले हतियारको राजनीतिले परिवर्तन सम्भव नभएको भन्दै विप्लव नेतृत्वको नेकपालाई हत्या, हिंसा र चन्दा आतंकको राजनीति छाडेर आर्थिक क्रान्तिको बाटोमा सहभागी हुन आग्रह गरे । शान्तिपूर्ण राजनीतिबाट जनताको मत जितेर आफ्नो नीति तथा कार्यक्रम लागू गर्न विप्लवलाई उनले सुझाब दिए । ‘बुलेटबाट होइन ब्यालेटको सहायताले जनताको मन जितेर आफ्नो नीति तथा कार्यक्रम लागू गर्नुस्,’ नेता नेपालले भने ।

यता नेकपा सचिवालय सदस्य तथा पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले पत्रकारहरूको मागअनुसार मिडिया काउन्सिल विधेयक आउने जिकिर गरेका छन् । आइतबार नेकपा बर्दियाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता गौतमले विधेयकका विवादित विषयहरू सच्चाएर पत्रकारको माग अनुसार विधयक पास हुनेमा आफूले विश्वास लिएको बताए ।

नेकपा प्रवक्ता श्रेष्ठले सरकार प्रेस स्वतन्त्रताविरोधी नभएको भन्दै नेतृत्वको बचाउ गरे । प्रेसलाई कुण्ठित हुने गरी मिडिया काउन्सिल विधेयक यथास्थितिमा पास हुँदैन,’ उनले भने,‘नागरिकता विधेयक र मानवअधिकार आयोग ऐनमा पनि राजनीतिक सहमति गर्नुपर्छ, अधिकार कुण्ठित हुने प्रावधान राखिँदैन ।’
नयाँ पत्रिकाबाट

Logo