काठमाडौंं,
भूमि व्यवस्थामन्त्री पद्मा अर्यालसहितको टोली सगरमाथाको आधार शिविर पुगेर फर्कंदा झन्डै ५० लाख रुपैयाँ खर्च भएको पाइएको छ । मन्त्रीको टोली वैशाख २८ गते सगरमाथा बेस क्याम्प पुगी त्यसै दिन साँझ काठमाडौ फर्केको थियो। टोलीले त्यतिबेला बेस क्याम्पमा झन्डै एक घन्टा कार्यक्रम गरेको थियो। नेपाली प्राविधिकहरू सगरमाथाको मापनमा रहेका बेला अनुगमनका नाममा मन्त्रीसहितको टोली तीन वटा हेलिकोप्टर लिएर बेस क्याम्पमा पुगेको थियो ।
काठमाडौंबाट लुक्लासम्म जहाजमा पुगेको टोली त्यहाँबाट भने नेपाली सेना र सिम्रिक एयरका हेलिकोप्टर लिएर त्यहाँ पुगेका हुन् । सगरमाथाको मापनका लागि भन्दै नापीद्वारा भाडामा लिइएका सिम्रिक एयरका दुईवटा हेलिकोप्टर मन्त्रीको टोलीका लागि प्रयोग भएका थिए ।
आधार शिविर पुगेकी मन्त्री अर्यालले सगरमाथा मापन गरिरहेका कर्मचारीलाई प्रमाणपत्र वितरण गरेकी थिइन् । जबकि सगरमाथा मापन गरेर फर्किएका कर्मचारीहरूलाई प्रमाणपत्र वितरणको खास कार्यक्रम शुक्रबार भूमि व्यवस्था मन्त्रालयमा गरिएको थियो । मन्त्रालयमा गरिएको कार्यक्रममा मन्त्री अर्यालले सगरमाथा पुग्ने कर्मचारीलाई स्वागत गरेकी थिइन् । सगरमाथाको बेस क्याम्पमा भने उनको कार्यक्रम अनुगमनभन्दा घुमफिरमा केन्द्रित भएको मन्त्रालयका एक उच्च कर्मचारीले बताए ।
हेलिकोप्टरबाट मन्त्री अर्यालसँगै बेस क्याम्पमा जाने उनको स्वकीय सचिव टेक लुइँटेल, नापी विभागका उच्च कर्मचारीहरूले त्यहाँ सेल्फी खिच्न भ्याएका थिए । बेस क्याम्प जाने अन्यमा नेकपा स्याङ्जाका नेता विश्व अर्यालसहित भूमि व्यवस्था मन्त्रालयका सहसचिवद्वय जनक जोशी र चन्द्रकला पौडेल, नापी विभागका महानिर्देशक प्रकाश जोशी र केही उच्च कर्मचारी थिए । मन्त्रीको टोली बेस क्याम्पमा जाँदा लागेको सबै खर्च नापी विभागले बेहोरेको जनाइएको छ ।
नागरिकबाट





























प्रतिक्रिया