संसद् लाइब्रेरीमा ४० हजार पुस्तक तर, छिर्दैनन् सांसद

संसद् लाइब्रेरीमा ४० हजार पुस्तक तर, छिर्दैनन् सांसद

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

संघीय संसद् प्रारम्भ भएको डेढ वर्ष पुगिसकेको छ । तर, शीर्ष नेता भने संसद्को पुस्तकालयमा एकपटक पनि पुगेका छैनन् । पटकपटक पुस्तकालय जाने र अध्ययन गर्नेमा पूर्वमन्त्रीद्वय अग्नि सापकोटा र दीनानाथ शर्मा मात्रै छन् । त्यसबाहेक कुनै पनि राजनीतिक दलका शीर्ष नेता पुस्तकालय गएको रेकर्ड सचिवालयमा छैन ।

४० हजार पुस्तक भएको लाइब्रेरीबाट सांसदहरूले कति पुस्तक पढ्न लगेका छन् भन्ने तथ्यांक समेत छैन । तर डेढ सयजति पुस्तक मात्रै पढ्न लगेको मोटामोटी तथ्यांक छ । २७५ सदस्यीय प्रतिनिधिसभाका १० र ५९ सदस्यीय राष्ट्रिय सभाका १७ सांसद मात्रै पुस्तकालय पुगेको रेकर्ड छ । ‘कुन सांसदले कति पुस्तक र कुन–कुन लानुभयो भन्ने विवरण उतार्न समय लाग्छ । सबै कुरा बताएर पनि हुन्न,’ पुस्तकालय प्रमुख कमलादेवी शर्माले भनिन् । संसद्को पुस्तकालयमा बसेर पढ्ने ठाउँसमेत पर्याप्त छैन । उपयुक्त पुस्तक अभाव र पुस्तकालयमा बस्ने ठाउँको अभावका कारण नगएको सांसदहरू बताउँछन् ।

माथिल्लो सदनका सांसद तुलनात्मक रूपमा बढी अध्ययनशील देखिएका छन् । पुस्तकालयमा गत पाँच महिनाको अवधिमा पुग्ने २७ सांसदमध्ये १७ जना राष्ट्रिय सभाकै छन् । ५९ सदस्यीय राष्ट्रिय सभाका अधिकांश सांसद पटकपटक पुस्तकालय पुग्दा प्रतिनिधिसभाका १० जना मात्रै सांसद पुस्तकालय पुगेका छन् ।
नयाँ पत्रिकाबाट

Logo