पाँचथर नरसंहार : नौ जनाको सामूहिक अन्त्येष्टि गरियो

पाँचथर नरसंहार : नौ जनाको सामूहिक अन्त्येष्टि गरियो


फिदिम,

सेतो कपडाले छोपिएका शवहरु गाडिबाट एकपछि अर्को निकाल्दै गर्दा सबैका आँखा रसाए । मान्छेको भीड बाक्लो थियो । कसैको बोली थिएन । केवल चित्कार मात्रै थियो । सबैको अनुहार मलिन देखिन्थ्यो । मृतकका आफन्तको रोदनले सबैलाई भावुक बनाएको थियो । अधिकांशले मुख छोपेका थिए ।

यो दृश्य पाँचथरको मिक्लाजुङ गाँउपालिका ३ आरुबोटेमा भएको कारुणीक नरसंहारको सिकार बनेका नौ जना मृतकको अन्त्येष्टिको हो । हत्याको सिकार बनेका नौ जनाको बिहीबार सामूहिक रुपमा अन्त्येष्टि गरिएको छ ।

दुई चित्तामा नौ जनालाई एकसाथ जलाउनुपर्दा सबैका आँखा रसाएका थिए । अघिल्लो दिनसम्मसँगै हाँसखेल गरेका छिमेकीको हत्या भएपछि गाउँ शोकमा छ । अन्त्येष्टिमा सहभागीले मृतकको गुणगान गाँउदै आँसु झारे ।

फिपधोज फियाकले सोमबार दिउँसो बम बहादुरसँगसँगै बजार भरेका थिए । आरुबोटे ३ को बाङ्गे टेक्रे बजारमा बम बहादुरले एक किलो मासु किनेका थिए । ‘उनले मासु किनेपछि हामी गफ गर्दै घर फर्किएका थियौँ,’ फिपधोजले बम बहादुरले स्मरण गर्दै भने, ‘छुट्टीले बेलामा मासु पोलेर खाँउ भनेर रमाइलो गरेको थिएँ । उनले आउँदो सोमबार मासु खरिद गरेर पोलेर खाने भन्दै घर गएका थिए ।’ आँउदो सोमबार पोलेर मासु खाने सल्लाह गरेर छुटेका बम बहादुरको रातिनै हत्या भएको थियो । त्यो घटनाले उनीसँग मिल्ने गाँउका छिमेकी अन्त्येष्टिमा भावुक देखिए ।

बमबहादुर फियाकको घरमा मारिएका चार जनाएको अन्त्येष्टि मिक्लाजुङ ३ आरुबोटेको च्यानडाँडामा गरिएको हो । च्यानडाँडामा बमबहादुरसहित उनकी श्रीमती फुर्चीमाया, कान्छी छोरी मनकुमारी र नातिनी आसिका खजुमको अन्त्येष्टि गरिएको हो । बम बहादुरकी जेठी छोरी दिलमाया फियाक तुम्सा र साहिली छोरी बुद्धमाया फियाक खजुमले दागबत्ती दिए ।

बम बहादुरका ज्वाइँ धनराज शेर्माको घरमा मारिएका पाँच जनालाई मिक्लाजुङ २ सराङडाँडामा सामूहिक रुपमा अन्त्येष्टि गरिएको छ । यहाँ धनराजसहित उनकी श्रीमती जस्मिता, छोरी युहाना र मुना शेर्मा र भतिजी इक्सा शेर्माको अन्त्येष्टि गरिएको हो । नौ जनालाई दुई चितामा सामूहिक रुपमा अन्त्येष्टि गर्नुपर्दा मृतकका आफन्तहरु निकै बिह्ल देखिन्थे।  हत्यामा संम्लग्न भनिएका मान बहादुर माखिमको धरानमै अन्त्येष्टि गरिएको थियो ।

नौ जनाको हत्या गरी माखिमले आत्महत्या गरेको प्रहरीको भनाइ छ । माखिमलाई मिक्लाजुङ ८ को लुङमाङदिन भन्ने स्थानमा झुण्डिएको अवस्थामा भेटिएको थियो ।
अन्नपूर्णबाट

Logo