मिक्लाजुङ हत्याकाण्ड : पत्याउनै गाह्रो, सपना जस्तो

मिक्लाजुङ हत्याकाण्ड : पत्याउनै गाह्रो, सपना जस्तो

केन्द्रबिन्दु
0
Shares

पाँचथर,

मिक्लाजुङ गाउँपालिका–३ स्थित आरुबोटे बजार र आसपास क्षेत्रका बासिन्दाको अनुहार बुधबार दिनभरि मलिन देखियो । गाउँलेमा कुनै उत्साह देखिएन । दुई परिवारका नौ जनाको सोमबार राति घरमै भएको हत्याबारे अनेक अडकलबाजी लगाइरहेका उनीहरू त्रसित र हतास देखिन्थे । उनीहरूलाई नौ जनाको हत्या सपना जस्तो लागेको छ । ‘गाउँमा त शान्ति थियो । अलिअलि झैझगडा बाहेक थिएन । त्यसै मान्छे तराई झ¥या हैन रहेछन्’ जस्ता टिप्पणी स्थानीयले गरेको सुनियो।

दुई घरमा रगतका टाटैटाटा थिए । सामान्य आर्थिक अवस्थाका दुई परिवारले घरमा बर्खालाई दाउरा र खाद्यान्नको जोहो गरेको देखियो । दुवै घरलाई प्रहरीले घेरेका थिए । गोठमा बस्तुभाउ कराइरहेका थिए । आफन्त अनेक बिलौना गरेर रुँदा गाउँले निःशब्द बने । ‘सपना जस्तो लागेको छ । काममा फर्किन मनै छैन । खान, काम गर्न, सुत्न मन लागेको छैन । एकतमासको भइएको छ’, स्थानीय व्यवसायी कुमारी माङलाकले भनिन्, ‘यहाँभन्दा भयावह अवस्था के हुन सक्छ र ?’

गाउँमा सुरक्षाकर्मी बाक्लै परिचालित भए पनि मनबाट भय हट्न नसकेको स्थानीयको भनाइ छ । आँखामा मारिएकाको अनुहारमात्र नाचिरहेको स्थानीय जनप्रतिनिधि डुजन फियाकले बताए । मारिएका नौ जना मध्ये चार १५ वर्ष मुनिका छन् । ‘चपिङबोर्डमा प्याज काटेझै हत्या गरेको देखियो । शरीरका विभिन्न भागमा खुकुरी र छुरी प्रहार भएको देखिन्थ्यो’, अर्का स्थानीय पहलमान फियाकले भने, ‘यो घटनालाई विभिन्न कोणबाट अनुुसन्धान गरिनुपर्छ । यस्तो विरक्तलाग्दो घटना मैले देखेको थिइनँ ।’

हत्या गरिएका धनराज सेर्माको घर आरुबोटे बजारदेखि नजिकै पर्छ । धनराजसहित उनको परिवारका पाँच जनाको हत्या भएको हो । त्यस्तै हत्या गरिएका बम बहादुर फियाकको घर धनराजको घरबाट करिब डेढ किलोमीटर दुरीमा छ । बमबहादुर धनराजका ससुरा थिए । बम बहादुरसहित उनकी पत्नी फुर्सिमाया, कान्छी छोरी मनकुमारी र साइँली छोरीतिरकी नातिनी आशिका खजुमको हत्या भएको हो । घटनापछि घरबाट माइती आएका जेठी छोरी दिलमाया फियाक र साइली बुद्धमाया फियाक अलपविलाप गर्दै रोइरेहका थिए ।

घरबाट भागेकी आशिकाकी दिदी सीता खजुमको दमकमा उपचार हुँदैछ । भाग्ने क्रममा उनी घाइते भएकी हुन् । उनको स्थास्थ्य अवस्था समान्य रहेको जानकारी दिइएको छ। उनी भागेर छिमेकीको घरमा शरण लिन पुगेकी थिइन् । ‘नानी (सीता) हडबडाउँदै आएपछि डरले ढोका थुनेर बस्यौं’, छिमेकी कान्छीमाया फियाकले भनिन् ।

छिमेकी सुनकान्छी फियाकले बमबहादुरका घरका मानिस मंगलबार बिहान किन उठेनन् भनेर हेर्न जाँदा हत्या भएको भेटेको बताइन् । त्यसपछि ज्वाइँ धनराजलाई जानकारी गराउन फोन गर्न खोज्दा नलागेपछि घरमा जाँदा उनको परिवारका सबैको हत्या भएको भेटिएको स्थानीयले बताए । धनराज, उनकी पत्नी जस्मिता, दुई छोरी युहाना र मुना तथा भतिजी इच्छाको हत्या भएको थियो । धनराजको परिवार नै सखाप भएको छ ।
नागरिकबाट

Logo