काठमाडौं ।
तराईका चरा पहाड उक्लन थालेका छन् । झण्डै एक दर्जनभन्दा बढी नयाँ चरा काठमाडौँमा देखिएको चराविद्ले जनाएका हुन् ।
जाडो बढ्दै गएको यो समयमा काठमाडौं उपत्यकाको मनोहरा क्षेत्रमा तराईका चराको चाप बढ्दै गएको चराविद् डा. हेमसागर बरालले बताए । मनोहरा खोलालाई अहिले मिनी कोसीटप्पु भनेर चराविद्समेत त्यहाँ धाउन थालेका छन् ।
उनका अनुसार समुद्री सतहदेखि तीन सय मिटरभन्दा तलै पाइने चस्मे भारद्वाज चरा एक हजार मिटरको उकालो तय गर्दै दुई दिनअघि मात्र मनोहरा खोलामा आएको छ । “गर्मीको मौसममा आएको भए पनि थोरै चिसो खान आयो भन्नु तर जाडोको समयमा काठमाडौंमा यसरी चस्मे भारद्वाज आउनु अचम्म नै हो”, डा.बरालले भने। यो मात्र हैन केही दिन अघि तराईकै नरकट घाँसे चरी मनोहरा घुम्न आइपुगेको थियो । तराईमा पाइने नरकटका घाँसमा रमाउने त्यो चरा काठमाडौँ आउनुले पनि चरा उकालो चढ्न थालेको पुष्टि हुन्छ ।
यसैगरी तराईकै चुइयाँ चराका विभिन्न प्रजाति पनि यसै वर्ष उपत्यका भित्रिसकेका छन् । पानी चुइयाँ चराले मनोहरा खोलामा पौडी खेलेको छ । सन् १९९२ ताका पहिलोपल्ट काठमाडौँ उक्लेको लालकण्ठे चुइयाँ चरा दोहोर्याएर यसपालि उपत्यका आएको छ । मालक र सुनजुरे चरा पनि दोहोर्याएर उपत्यका भित्रेका छन् ।
अहिले चराको स्वर्ग मानिने कोसी टप्पु, कपिलवस्तु र चितवनभन्दा पनि काठमाडौँ उपत्यकामा चराको आवतजावत बढेको छ । पहिले कहिल्यै नआएका चरा पनि काठमाडौँमा रेकर्ड भएका छन् । तराईको बाज रातो टाउके पौडाइ र सेता थोप्ला हुने सुन्दर कालो सारौँ पनि काठमाडौँ आइपुगेको छ ।
भक्तपुरको बोडे गाउँबाट तल झरेपछि आउने मनोहरा फाँट अहिले फिरन्ते चराको मुख्य आकर्षण बनेको छ । सुन्दर चरा आउन थालेपछि स्थानीय चराको फोटो खिच्न र चरा हेर्नकै लागि उहाँ जम्मा हुन थालेका छन् ।
विगत चार वर्षदेखि मनोहरा खोलामा चरा हेर्न थालेका फोटोग्राफर सञ्जय श्रेष्ठले यसअघि कहिल्यै नदेखिएका चरा मनोहरा खोलामा देखिन थालेको बताए । “कति राम्रा राम्रा चरा आउँछन्, हेर्न र फोटोमा कैद गर्न हरेक दिन मनोहरा पुग्छु”, उनले सुनाए । श्रेष्ठका अनुसार नेपालका तराई भेगसँगै साइबेरिया र रुसबाट पनि यहाँ फिरुन्ते चरा आउने गरेका छन् । चराविद् बरालका अनुसार कोभिड सङ्क्रमणका कारण मानिसको जमघट उपत्यकामा कम हुँदा पर्यावरणमा परेको सकारात्मक प्रभावले यसरी उपत्यकामा चरा आउन थालेको हो । जलवायु परिवर्तनको असरले काठमाडौँको तापक्रम जाडोमा पनि तातो हुन थालेकाले पनि तराईका चरा आउन सक्ने वातावरण सिर्जना भएको उनको ठम्याइ छ ।
खोला तथा सिमसार छेउमा काँसघारी बन्नु र माथितिर सल्लाको वन हुनाले पनि चराको आकर्षण यस क्षेत्रमा बढेको अनुमान उनको छ । काठमाडौँको मनोहरा फाँटको एक हजार मिटर आसपासमै अहिले धेरै सुन्दर चरा देखिने स्थान बनेको छ ।गोरखापत्रबाट































प्रतिक्रिया