काठमाडौं,
कार्यकाल सकिएका र फिर्ता बोलाइएका गरी सात देशमा सरकारले राजदूत नियुक्त गरेको छैन । सरकारी अधिकारीहरूले भने राजदूत सिफारिसको गृहकार्य भइरहेको दाबी गरेका छन् ।
‘रिक्त स्थानमा राजदूत सिफारिसका लागि अनौपचारिक गृहकार्य भइरहेको छ,’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले भने, ‘तयारी अघि बढेको छ । ती स्थानमा सरकारले छिट्टै राजदूत सिफारिस गर्नेछ ।’
सरकारले सबै मिसनमा राजदूतको पदावधि सकिनु भन्दा तीन महिना पहिल्यै राजदूत सिफारिस गर्ने निर्देशिका तयार गरेको छ । कार्यान्वयनमा समेत ल्याइसकेको निर्देशिका अनुसार सरकारले राजदूत नियुक्त गरेको छैन । अमेरिकास्थित राजदूत डा. अर्जुन कार्कीको पदावधि सकिए पनि अर्को व्यवस्था नहुन्जेल कार्यावधि थपिएको छ ।
अमेरिकाबाहेक रिक्त ६ देशमा राजदूत नियुक्त भएका छैनन् । थाइल्यान्डले प्रस्तावित नेपाली राजदूत गणेश ढकालको एग्रिमो नपठाएका कारण सरकारले राजदूत खगनाथ अधिकारीलाई अर्को व्यवस्था नहुन्जेल कार्यावधि बढाएको छ ।
सरकारले दक्षिण कोरियाका लागि राजदूत अर्जुन जंगबहादुर सिंह, बंगलादेशका डा. चोपलाल भुसाल, स्पेनका भरत रायमाझी, कतारका रमेश कोइरालालाई भिन्न मितिमा फिर्ता बोलाइसकेको छ । उनीहरू कांग्रेसको भागबन्डाबाट राजदूत भएका थिए । कांग्रेस कोटाबाटै राजदूत भएकामध्ये जापानका प्रतिभा राणा र श्रीलंकाका डा. विश्वम्भर प्याकुरेल तथा विजय गच्छदारको कोटाबाट गएकी ओमनकी राजदूत शर्मिला पराजुली ढकालबारे सरकारले निर्णय गरेको छैन ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया