काठमाडौँ,
गत चैत १७ गते बारा र पर्सामा आएको टोर्नाडोको नेपाली नाम जुराउन विज्ञलाई सकस परेको छ । टोर्नाडो गएको झण्डै डेढ महिना बित्न लाग्दा पनि त्यसको नेपाली नाम राख्न विज्ञले नसकेका हुन् । के कस्तो नाम राख्ने भन्ने विषयमा ठ्याक्कै नाम जुराउन गाह्रो भइरहेको विज्ञहरूले बताए ।
टोर्नाडोको अवस्था मूल्याङ्कन तथा वास्तविक तथ्य पत्ता लगाउन अनुसन्धान गर्न गएको टोलीले समेत सही नाम हालसम्म छनोट गर्न नसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका महानिर्देशक सरजकुमार वैद्यले भन्नुभयो, “टोलीले रिपोर्ट बुझाएको छैन त्यसका आधारमा नाम राखिन्छ, रिपोर्ट आएपछि नामको पनि टुंगो लाग्ला ।”
आउँदो हप्ताभित्र रिपोर्ट आफूसमक्ष आउने र सुझाएका नामका बारेमा छलफल गरी टोर्नाडोको नाम राखिने उहाँले बताउनुभयो । टोलीले भने टोर्नाडोको असर तथा त्यसका विविध पक्षमा गरिएको अध्ययन लगभग अन्तिम चरणमा पुगेको जनाएको छ ।
टोलीमा सहभागी विज्ञहरूका अनुसार तराइ भेगमा चल्ने भाषा तथा विपत्तिमा राखिने नामसँग जोडेर समेत नामको खोजी भइरहेको छ । महाहुण्डरी, घूम हुण्डरी, बवण्डर लगायतका नाम सुझाव सङ्कलनबाट आएको विज्ञहरूले बताए । स्मल अर्थ नेपालमा अध्येता नामीहाङ किराँतले भने रिपोर्ट दिइसकेको उल्लेख गर्नुभयो । “अब ड्रोनको तस्बिर तथा भू–उपग्रहका तस्बिर विश्लेषणको काम विभागले गरिरहेको छ,” किराँतले थप्नुभयो, “नामको बारेमा भने विभागले नै टुंगो लगाउँछ ।”
गोरखापत्रबाट





























प्रतिक्रिया