त्रिवि परीक्षा नियन्त्रण कार्यालयको चरम लापर्बाही

त्रिवि परीक्षा नियन्त्रण कार्यालयको चरम लापर्बाही


काठमाडौँ,

मुलुकको सबैभन्दा पुरानो, ठूलो र प्रशस्त जनशक्ति भएको त्रिभुवन विश्वविद्यालयमा चरम लापर्बाही देखिएको छ ।

विश्वविद्यालयकै परीक्षा नियन्त्रण कार्यालय त्यसको चरम रूप बनिरहेको छ । यो अपत्यारिलो सत्य हो । बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय (पनिका) पुगेका हरेक सेवाग्राही स्वतः यसको साक्षी बन्ने गरेका छन् । त्यहाँ पुग्ने सेवाग्राहीले विभिन्न खाले समस्या झेल्न बाध्य हुने गरेका छन् ।

मार्कसिट र ट्रान्सक्रिप्टमा पटकपटक दोहोरिने लापर्बाही, कर्मचारीको ढिलासुस्ती, सेवाग्राहीलाई हेयको भावले हेर्ने प्रवृत्ति, लामो लाम, कामको चाप यसका मुख्य विशेषता हुन् । ६० आंगिक र एउटा केन्द्रीय क्याम्पस भएको त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय भने एउटा मात्र छ ।

देशैभरका विद्यार्थीले सेवा लिन आउने भएकाले अत्यधिक चाप हुने गरेको यो कार्यालय कमजोर सेवा प्रवाहको उदाहरण भएको छ । पनिकाका समस्या एक/दुई मात्र छैनन् । सबैभन्दा ठूलो समस्या भनेको यो कार्यालय अहिले पनि प्रविधिमैत्री बन्न सकेको छैन । केही महिनाअघि २४ घण्टाभित्र ट्रान्सक्रिप्ट दिने घोषणा गरिए पनि व्यवहारमा लागू भएको छैन । त्यो सेवा पनि केही संकाय र तहका लागि सीमित गरिएको छ । पनिकामा सामान्य रेकर्ड हेर्न पनि वर्षौं पुराना ढड्डा पल्टाउनुपर्ने बाध्यता कायमै छ । पनिकाको सेवा प्रवाहमा आउने अर्को समस्या हो, अतिशय लापरबाही ।

पनिकाले तयार गर्ने मार्कसिटमा कसैको नाम गलत टाइप भएको हुन्छ, कसैको रजिस्ट्रेसन नम्बर छुटेको हुन्छ त कसैको प्राप्तांकमै त्रुटि भेटिन्छ । त्यस्ता त्रुटि सच्याउन लाइन बस्नेहरू बग्रेल्ती भेटिन्छन् । पीडित विद्यार्थीका अनुसार आफैंले गरेको त्रुटि सच्याउन पनिकाले थप दस्तुर लिन्छ र थप समय खर्च गरिदिन्छ । आफूले गरेको त्रुटिमा सामान्य माफी पनि नमाग्ने र थप दुःख दिने यस्तो सेवाप्रवाह प्रणाली सम्भवतः विश्वमै यही मात्रै भएको सरोकारवालाको दाबी छ ।
राजधानीबाट

Logo