कञ्चनपुर,
महाकाली सिँचाइ आयोजना निर्माणमा चरम ढिलासुस्ती भएको छ । दुई दशकअघि भारतसँग गरिएको महाकाली नदीको एकीकृत विकास सन्धिमा यो नहर बनाइने सहमति भएको थियो ।
कञ्चनपुर भीमदत्त नगरपालिका–९ ब्रह्मदेवदेखि कैलालीको मालाखेतीसम्मको यो नहर एक सय ५२ किलोमिटर लामो हुनेछ । १६ वर्षमा निर्माण सम्पन्न गर्ने गरी आर्थिक वर्ष ०६३/६४ बाट नहर खन्न सुरु गरिएको थियो । तर चैत ०७३/७४ सम्ममा १२.७० किमि मात्र नहर तयार भएको छ । गतवर्ष थप १६ किमि नहर निर्माणका लागि सम्झौता गरिए पनि बजेट अभावमा काम अघि बढेको छैन । यही गतिमा काम भइरहने हो भने एक सय ५२ किलोमिटर नहर बनाउन एक सय २० वर्ष लाग्ने देखिन्छ ।
१० वर्षमा तीनवटा कम्पनीले झन्डै १३ किमि नहर तयार गरेका थिए । कुमार राजेन्द्र आशिष जेभी, कुमार नेपाल आदर्श केएम जेभी र लुम्बिनी राजेन्द्र डाँफे जेभीले १८ वटा पुल, पाँचवटा साइपन र ६ वटा फुटपाथ पुलसहित नहर बनाउँदा दुई अर्ब ४१ करोड ११ लाख ३८ हजार खर्च भइसकेको छ । ६५ हेक्टर जमिनको मुआब्जामा मात्रै ५१ करोड १४ लाख ६४ हजार, निर्माण कार्यका लागि एक अर्ब, ८२ करोड ५१ लाख ६६ हजार र अनुसन्धान तथा परामर्शमा सात करोड, ७८ लाख आठ हजार खर्च भएको छ ।
सन्धि कार्यान्वयनमा भारत उदासीन
महाकाली सन्धिअनुसार भारतले टनकपुर बाँधदेखि नेपालको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवसम्म १२ सय मिटर नहर उसैले निर्माण गर्नुपर्ने उल्लेख छ । तर भारतले औपचारिकता मात्रै पूरा गर्दै आएको छ, काम भने गरेको छैन । टनकपुर बाँधबाट नेपाललाई सुक्खायाममा तीन सय क्युसेक र वर्षातमा हजार क्युसेक मिटर पानी उपलब्ध गराउने सहमति भएको थियो ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया