राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डाइलासिस ठप्प, मृगौला रोगी समस्यामा

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डाइलासिस ठप्प, मृगौला रोगी समस्यामा

केन्द्रबिन्दु
0
Shares

भक्तपुर,

भक्तपुरको दूधपाटीस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विगत वैशाख ११ गतेदेखि अशान्त छ । सरकारले स्वास्थ्य, शिक्षा, खानेपानी लगायतका अत्यावश्यकीय क्षेत्रमा हड्ताल, धर्ना तथा आन्दोलन गर्न नपाइने कानुन बनाएको छ ।

तर सरकारी स्वास्थ्य केन्द्र राष्ट्रिय प्रत्यारोपण केन्द्र नर्सको आन्दोलनको कारण अशान्त हुँदै आएको छ । नर्सको आन्दोलनको कारण केन्द्रले प्रवाह गर्दै आएको सेवा प्रभावित हुँदै आएको छ । जसले गर्दा मृगौला रोगीले निर्धक्कसँग उपचार गराउन पाएका छैनन् ।

आन्दोलनको कारण मृगौला फेल भएर बाँच्ने अन्तिम आशा लिएर केन्द्रमा उपचार गर्न आउने बिरामी बढी प्रभावित भएका छन् । नर्सको आन्दोलनको कारण केन्द्रको बहिरंग र अन्तरंग सेवा राम्ररी चल्न सकेको छैन ।

अंग प्रत्यारोपण भएका तथा शल्यक्रिया भएका बिरामीले केन्द्रभित्रै राम्रो रेखदेख पाउन सकेका छैनन् । बहिरंगमा आएका बिरामीहले चिकित्सकसँग राम्रो परामर्श गर्न पाएका छैनन् । मृगौला फेल भएकाले हप्तामा कम्तीमा दुईपटक चार घन्टा लगाएर गर्नुपर्ने नियमित डाइलासिस गर्न पाइरहेका छैनन् । आन्दोलनकारी नर्सले डाइलासिस वार्ड लक्षित आन्दोलन गरेका छन् । जसले गर्दा डाइलासिस गर्न आएका बिरामीले आधा समयमात्रै डाइलासिस गर्न पाइरहेका छन् ।

त्यस्तै केन्द्रको डाइलासिस सेवा ठप्प पारिएपछि मृगौला पीडितहरु पनि आन्दोलित भएका छन् । स्वास्थ्य सेवा पाउने बिरामीहरुको नैसर्गिक अधिकार कुन्ठित गरिएको भन्दै उनीहरुले शुक्रबार जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् ।
अन्नपूर्णबाट

Logo