काठमाडौं
जातीय विभेद तथा छुवाछूतको व्यावहारिक अन्त्यका लागि ३ चैत बाट सुरु महाकाली–मेची पदयात्रा ५४ दिनमा १ हजार ३२८ किलोमिटर पार गरी मेचीको काँकरभिट्टामा पुगेर समापन भएको छ ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पदयात्रीहरू होमराज आचार्य, अशोक दर्नाल र रीता परियारले ५४ दिनमा १ हजार ३२८ किलोमिटरको यात्रा तय गरेको जानकारी गराएका हुन् ।
देशका प्रत्येक कुनाकुनाबाट छुवाछूत सदाका लागि अन्त्य गर्न व्यक्ति र छिमेकीलाई उत्प्रेरित गर्ने उद्देश्यका साथ उक्त पदयात्रा गरिएको उनीहरूको दाबी छ ।
आफूहरूले १ लाख १७ हजार आम जनसमुदायसँग प्रत्यक्ष संवाद, अन्तक्रिया र छलफल गर्दै विभेदको अहिलेको अवस्था, परिर्वतनका बाधक तत्व र समाधानका उपायबारे स्थानीय तहबाट खोजी गर्नुका साथै कानुन कार्यान्वयनमा देखिएका कमीकमजोरीलाई औंल्याउँदै सचेतीकरणको कामसमेत कुशलतापूर्वक सम्पन्न गरेको अभियन्ता अशोक दर्नालले बताए ।
दलित समुदायको मुद्दा गैरदलित समुदायको मुद्दा नबन्दासम्म दलित समुदायको पक्षमा जारी भएको ऐन कानुन व्यावहारिक रूपमा लागू हुन नसक्ने पदयात्री होमराज आचार्यले बताए ।
अर्की पदयात्री रीता परियारले आफूहरूले यात्राका क्रममा दलितले भोग्नुपरेका विभिन्न पीडा थाहा पाएको सुनाइन् । उनले बनेका नीति तथा नियम व्यवहारमा लागु हुनुपर्ने माग गरिन् ।
आगामी ६ महिनाभित्र जातीय विभेद र छुवाछूतको अन्त्यका लागि सामाजिक रुपान्तरणमा लाग्ने ७५३ स्थानीय निकायबाट ५१ सदस्यीय परिवर्तनका लागि संवाहक नाम दिएर राष्ट्रिय सञ्जाल निर्माण गरिने पनि उनीहरूले जनाए ।
राजधानीबाट





























प्रतिक्रिया