काठमाडौँ,
शुक्रबार (आज) विश्वभर ५० औँ विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइँदैछ । अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्गठन (आईटीयू) का विश्वभरका १९३ सदस्य राष्ट्रभर यो दिवस मनाउने गरिन्छ । दशक अघिसम्म यस्तो दिवस विश्वभर दूरसञ्चारको विस्तारमा बढी केन्द्रित रहन्थ्यो । पछिल्लो समय भने यस्तो दिवस यसको गुणस्तर वृद्धि र बढ्दो डिजिटल खाडल कम गर्नुपर्ने विषयमा लक्षित हुन थालेको छ ।
यस वर्ष पनि दिवसको नारा ‘ब्रिजिङ द स्टान्डराइजेसन ग्याप’ अर्थात् स्तरीकरणको खाडल जोड्नेतर्फ लक्षित छ । यद्यपि पछिल्लो समय नेपालमा दिवस परम्परागत रुपमा मात्र मनाइँदा आईटीयूबाट प्राप्त हुनसक्ने थप लाभ लिन नसकिएको प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालको भनाइ छ । ‘आईटीयूले हरेक चार बर्षका लागि बनाउने रणनीतिक योजनालाई केन्द्रित गर्दै यसैमार्फत अन्य सेक्टरसँग पनि आपसी सहकार्यमा जानुको विकल्प छैन’ उहाँले भन्नुभयो ।
आईटीयूको स्थापना दिन मे १७ लाई आधार मानेर सन् १९६९ देखि विश्वभर यो दिवस मनाउन सुरु गरिएको हो । आईटीयूको स्थापना भने सन् १८६५ मे १७ मा भएको हो ।
सन् २००० अर्थात् १९ बर्ष अघि नेपालमा १५ हजार व्यक्तिमा मात्र टेलिफोनको पहुँच थियो जतिखेर देशको जनसङ्ख्या दुई करोड २७ लाख थियो । टेलिफोनको पहुँच हुनेहरूको समाजमा छुट्टै इज्जत हुन्थ्यो । एउटा टेलिफोन लाइन लिन ‘ठूलै’ शक्तिको प्रयोग गर्नुको विकल्प पनि थिएन त्यसबेला ।
परिस्थिति अहिले अपत्यारिलो किसिमले बदलिएको छ । हातमा फोन हुनु अब नेपालीका लागि गर्वको विषय रहेन । यो बरु गास, बास, कपास जस्तै आधारभूत आवश्यकता बनिसकेको छ ।
अहिले नेपालको जनसङ्ख्या दुई करोड ९५ लाख पुगेको छ तर मोबाइल प्रयोगकर्ताकै सङ्ख्या जनसङ्ख्याभन्दा एक करोड बढी अर्थात तीन करोड ९६ लाख ५५ हजार पुगेको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्क छ ।
दूरसञ्चारको महत्वपूर्ण इतिहास
विसं. १९७४ जेठ १ पहिलोपटक सर्वसाधारणका लागि टेलिफोन सेवा
१९७४ काठमाडौँदेखि रक्सौलसम्म ट्रङ्क लाइन सुरु
१९९३ काठमाडौँदेखि धनकुटासम्म ट्रङ्क लाइन विस्तार
२०३२ नेपाल दूरसञ्चार संस्थानको स्थापना
२०५३ भिस्याट सेवाको सुरुवात
२०५६ जीएसएम मोबाइल सेवाको सुरुवात
२०५७ इन्टरनेट सेवाको सुरुवात
२०६० जीएसएम प्रिपेड सेवा सुरु
२०६२ सीडीएमएको सुरुवात
२०६४ थ्रीजीको सेवाको सुरुवात
२०६९ वाइम्याक्स फोरजीको सुरुवात
२०७३ फोरजी सेवा सुरु
२०७५ देशैभर फोरजी सेवा विस्तार सम्झौता
२०७६ अप्टिकल फाइबर बिछ्याउन सुरु
गोरखापत्रबाट





























प्रतिक्रिया