ललितपुर,
आज जेठ ३ गते , तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ०५० आजकै दिन दासढुङ्गामा भएको जीप दुर्घटनामा निधन भएको थियो । आज नेपाल कम्युनिस्ट पार्टी नेकपाले २६ औं मदन आश्रित स्मृति दिवस मनाउँदैछ ।
नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्यु भएको दिनको सम्झनामा हरेक वर्ष एमालेले विभिन्न कार्यक्रम गर्दै आएकोमा गतवर्षदेखि एमाले र एमाओवादी एकीकरण भई बनेको नेकपाले यो वर्ष सो दिवस मनाउन थालेको हो ।
२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो । सो दिनको सम्झनामा नेकपाले जेठ ३ गते सो दिवस मनाउन लागेको हो ।
दिवसका अवसरमा आज तत्कालीन एमालेको पुरानो पार्टी मुख्यालय मदननगर बल्खुमा माल्र्यापण कार्यक्रमको आयोजना गर्दैछ । स्वर्गीय भण्डारीको प्रतिमासँगै आश्रितको तस्बिरमा पनि माल्यार्पणको कार्यक्रम राखिएको छ ।
सो कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायत नेकपाका अन्य नेता पनि सहभागी हुने तयारी छ । मदन आश्रितको घटनाको छानबिन नभएको भन्दै तत्कालीन एमालेभित्र आलोचना हुने गरेको थियो । तर अहिले भने वडा सदस्यदेखि राष्ट्रपति सम्म नेकपाकै नेतृत्व हुँदा पनि यस विषयमा कुनै छानबिन भएको छैन ।
आजको कार्यक्रममा जीवराजकी पत्नी माया ज्ञावली सहभागी हुने तयारी छ । मदनकी श्रीमती विद्यदेवी भण्डारी हाल मुुलुकको राष्ट्रपति रहेकी छिन् ।
त्यतिबेला पोखरामा हुने सभालाई सम्बोधन गर्न जाँदै गर्दा नेता द्वय चितवनको कविलासस्थित दासढुंगामा दुर्घटनामा परेका थिए । जिप त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भए पनि जिप चालक अमर लामा भने जिवित थिए । लामाको २०६० सालमा हत्या भएपछि त्यो घटनाको यथार्थ अहिलेसम्म पत्ता लगाउन सकिएको छैन ।





























प्रतिक्रिया