काठमाडौं,
सञ्चालनमा आएको १३ वर्षपछि तीलगंगा–ताम्रागंगा सडक बन्द गर्न पर्खाल लगाउन थालिएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई युनेस्कोले सम्पदाबाट हटाउने चेतावनी दिएपछि पशुपति क्षेत्र विकास कोषले सडक बन्द गर्ने निर्णय गरेको हो ।
कोषले आफू मातहत रहेको सम्पदाको संरक्षण गर्न र सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न सडकको दुवैतर्फ पर्खाल लगाउने काम अगाडि बढाएको बताएको छ ।
२०६३ सालमा सञ्चालनमा आएको सडक पटकपटक विवादमा पर्दै आएको थियो । कोषले बन्द गर्न खोज्दा पनि यसअघि स्थानीयको दबाबले सडक सञ्चालनले निरन्तता पाएको थियो ।
सञ्चालनमा रहेको सडक बन्द गर्न स्थानीयले सहमति जनाए पनि वैकल्पिक सडक हुनुपर्ने माग राख्दै आएका छन् । विश्व सम्पदा सूचीमा कायमै राख्नका लागि कोषले हाल सञ्चालन रहेको बाटोको दुवैतर्फ पर्खाल लगाउने काम अगाडि बढाएपछि स्थानीयले आपत्ति जनाएका छन् ।
करिब ८ सय ५० मिटर सडक बन्द हुँदा ताम्रागंगादेखि गोकर्णसम्म निर्माण भएको सडक प्रयोगविहीन हुनेछ । सोही बाटोलाई मुख्य नाकाका रुपमा प्रयोग गर्ने लक्ष्यको साथ सडक विभागले चार मिलोमिटर सडक निर्माण गरेको थियो ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया