चेन्नाईलाई १ रनले हराउँदै मुम्बई बन्यो आइपीएल च्याम्पियन

चेन्नाईलाई १ रनले हराउँदै मुम्बई बन्यो आइपीएल च्याम्पियन

केन्द्रबिन्दु
0
Shares

इंण्डियन प्रिमियर लिग(आइपीएल)को उपाधि मुम्बई इंण्डियन्सले जितेको छ।

आइतबार भएको १२ औं संस्करणको खेलमा चेन्नाई सुपरकिंग्सलाई १ रनले पराजित गरेर मुम्बईले चौथो पटक आइपीएलको उपाधि जितेको हो।

मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४८ रनमात्रै बनाउँन सक्यो।अन्तिम ओभरमा  चेन्नाईलाई जितका लागि ९ रन आवश्यक थियो तर उसले २ विकेट गुमाउँदै ७ रनमात्रै बनाउँन सक्यो। अनुभवी लसिथ मलिंगाले पहिलो बलमा शेन वाटसनलाई १ रन, दोस्रो बलमा  रविन्द्र जडेजालाई दुई रनमात्र दिए।

मलिंगाको तेस्रो बलमा ८० रनमा खेलिरहेका वाटशन रनआउट भएपछि खेल रोमाञ्चक बन्यो। अन्तिम दुई बलमा चेन्नाईलाई ४ रन आवश्यक थियो। पाँचौं बलमा भर्खरै क्रिजमा आएका शर्दुल ठाकुरले २ रन लिए। अन्तिम बलमा चेन्नाईलाई जितका लागि २ रन आवश्यक भएपनि सुन्दर योर्कर फाल्दै मलिंगाले ठाकुरलाई एलबिडब्लुको सिकार पारे।

चेन्नाईका लागि वाटशनले बाहेक फाफ डुप्लिसले २६ र डुविन बाब्रोले १५ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्। चेन्नाईका सुरेश रैना ८, अम्बाति राईडु १, महेन्द्रसिंह धोनी २ रनमै पवेलियन फर्किएका थिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन जोडेको थियो। उसका किरण पोलार्डले विस्फोटक ब्याटिङ गर्दै २५ बलमा ३ चौका र ३ छक्कासहित ४१ रन जोडे। त्यसबाहेक क्विन्टक डि ककले २९, इशान किसनले २३, हार्दिक पाण्ड्याले १६ रन जोडेका थिए।

योसँगै मुम्बई आइपीएलको सबैभन्दा सफल टोली बनेको छ । यसअघि मुम्बई र चेन्नाईले समान ३-३ पटक आइपीएलको उपाधि उचालेका थिए ।

Logo