काठमाडौं,
के तपाईं काठमाडौँका अस्पतालभित्र या अस्पताल बाहिर सुर्तीजन्य पदार्थको प्रयोग वा बेचबिखन त गरिरहनु भएको छैन ? सावधान, यदि यस्तो हो भने अब भने तपाई प्रहरीको फन्दामा पर्नुहुनेछ ।
ऐनमा भएको व्यवस्था अनुसार काठमाडौँको ठूला ११ सरकारी अस्पतालमा आजदेखि सुर्तीजन्य पदार्थको प्रयोग र बिक्री वितरणमा रोक लगाइएको छ ।
सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन २०६८ ले व्यवस्था गरे पनि व्यावहारिकरुपमा लागू हुन नसकेकाले महानगरीय प्रहरी परिसर काठमाडौँको अगुवाइमा पहिलो चरणमा काठमाडौँका ठूला ११ अस्पतालमा कार्यान्वयन गर्ने गरी अभियान सञ्चालन गरिएको हो ।
आज निजामती कर्मचारी अस्पतालबाट उक्त कार्यक्रम शुभारम्भ गरिएको परिसरका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार पहिलो चरणमा केन्द्रीय अस्पताल वीरसहित महाराजगञ्जस्थित शिक्षण अस्पताल, कान्तिबाल अस्पताल, प्रसूति गृह, सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, निजामती अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल, शहीद गङ्गालाल हृदयरोग उपचार केन्द्र, नेपाल आयुर्वेद अस्पताल, तिलगङ्गा आँखा अस्पताल र कीर्तिपुर अस्पतालमा सुर्तीजन्य पदार्थ प्रयोग निषेध गरिएको हो । अस्पतालको १०० मिटरसम्मै सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न समेत नपाइने प्रहरीले जनाएको छ ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया