प्रधानमन्त्रीद्वारा विश्व समुदायलाई लुम्बिनी भ्रमण गर्न आह्वान

प्रधानमन्त्रीद्वारा विश्व समुदायलाई लुम्बिनी भ्रमण गर्न आह्वान

केन्द्रबिन्दु
0
Shares

हनोइ,

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व समुदायलाई नेपाल भ्रमण गर्न आह्वान गरेका छन् ।

भियतनामको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको ‘वैशाख’ दिवसका अवसरमा भियतनाम सरकार तथा राष्ट्रिय भियतनाम बौद्ध संघले हा नाम प्रान्तमा आइतबार आयोजना गरेको कार्यक्रममा गौतमबुद्धको जन्मस्थल नेपाल बौद्धदर्शनको पनि उत्पत्तिस्थल भएकाले सबै बौद्ध धर्मावलम्बीले आफ्नो जीवनमा एकपटक लुम्बिनीको भ्रमण गर्नुपर्नेमा जोड दिए ।

‘बौद्ध धमावलम्बीको विश्व नेतृत्वतर्फ प्रयास र दीगो विकासका लागि जिम्मेवारी साझेदारी’ नाराका साथ उद्घाटन भएको तीन दिने सो कार्यक्रममा भियतनामका प्रधानमन्त्री न्गुुएन सुआन फुकले विश्वमा शान्ति र समन्वय स्थापना गर्न सो कार्यक्रम भियतनामको महत्वपूर्ण प्रयास भएको बताए ।

आइसीडीभीका संस्थापक अध्यक्ष तथा आइएबीयुका अध्यक्ष प्रा. डा. फ्रा ब्रमापन्डितले अन्तर्राष्ट्रियस्तरमा समाजमा शान्ति र समन्वयको सन्देश दिने सो कार्यक्रमको महत्वमा प्रकाश पारे । म्यानमारका राष्ट्रपति युविन मिन्तले बौद्धधर्मको शिक्षा तथा दैनिक जीवनमा यसको उपयोगका विषयमा चर्चा गरे ।

भियतनामले वैशाख दिवस मनाएको यो तेस्रोपटक हो । यसअघि, सो मुलुकले सन् २००८ र २०१४ मा यस्तै कार्यक्रम आयोजना गरेको थियो । विश्वका ११२ मुलुकबाट करिब १० हजार प्रतिनिधिले सो कार्यक्रममा भाग लिइरहेका छन् ।

Logo