टोखा–नुवाकोट सुरुङ मार्ग अनिश्चित

टोखा–नुवाकोट सुरुङ मार्ग अनिश्चित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

उपत्यकालाई कम समय र दूरीमा चीनको सिमाना रसुवागढीसँग जोड्ने उद्देश्यसहित प्रस्तावित राजधानीको टोखा–नुवाकोट सुरुङ मार्ग निर्माण स्रोतको अभावमा अनिश्चित बन्दै गएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले टोखा–नुवाकोट सुरुङ मार्ग निर्माण सरकारले आफ्नै लगानीमा गर्ने कि वैदेशिक सहयोगमा भन्ने विषयमा अहिलेसम्म टुङ्गो लाग्न नसक्दा सो सुरुङ मार्गको निर्माण कार्य अनिश्चित बन्दै गएको जानकारी दिनुभयो । यस विषयमा अहिले मन्त्रालयस्तरीय छलफल भइरहेको उहाँले बताउनुभयो ।

काठमाडौँ र उत्तरी नाका केरुङ जोड्ने सडकमार्ग अन्तर्गत टोखादेखि नुवाकोटको थानसिंह फाँटसम्म सुरुङमार्ग निर्माण गर्ने प्रस्ताव गरिएको थियो । यस सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य सम्भव रहेको सुझावसहितको प्रस्ताव अर्थ मन्त्रालयलाई बुझाएको दुई वर्ष बितिसक्दा पनि अर्थ मन्त्रालयबाट अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढ्न नसक्दा सो सुरुङ मार्गको निर्माण कार्य थप अनिश्चित बन्दै गएको देखिएको छ ।

सरकारले यस सुरुङ मार्ग निर्माण आफ्नै लगानीमा गर्ने कि वैदेशिक सहयोगमा भन्ने विषयमा टुङ्गो नलागेसम्म तथा यसबारे गरिएको अध्ययन स्वीकृत नभएसम्म यस सम्बन्धी कुनै पनि काम अगाडि बढ्न नसक्ने प्रवक्ता सापकोटाको भनाइ छ । आर्थिक वर्ष २०७४÷७५ देखि यो सुरुङ मार्ग निर्माणका लागि बजेटसमेत विनियोजन गरिएको छैन ।
गोरखापत्रबाट

Logo