एकवर्ष भित्रै दोलखाबाट ५५६ मेगावाट बिजुली थपिँदै

एकवर्ष भित्रै दोलखाबाट ५५६ मेगावाट बिजुली थपिँदै

केन्द्रबिन्दु
0
Shares

दोलखा,

जिल्लामा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनाबाट एक वर्षभित्र ५ सय ५६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणलाइनमा थप हुने भएको छ । कुनै अवरोध नआए निर्माणाधीन सबै आयोजना एक वर्षभित्र पूरा भई यो विद्युत् राष्ट्रिय प्रसारणमा थप हुने देखिएको हो । निर्माणाधीन अवस्थाका सातवटा आयोजनाको ७२ देखि ९७ प्रतिशतसम्म काम पूरा भएको सम्बद्ध पक्षले जानकारी दिएको छ ।

स्वदेशी लगानीको बहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनासहित निजी क्षेत्रबाट बनाइँदै गरेका आयोजनाको काम तीव्र गतिमा भइरहेको छ । ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना कात्तिकभित्र व्यावसायिक उत्पादन गर्ने लक्ष्य रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रवक्ता डा.गणेश न्यौपानेको भनाइ छ ।

निजी क्षेत्रको लगानीमा निर्माणाधीन ६ आयोजनाको एक सय मेगावाट पनि एक वर्षभित्र राष्ट्रिय प्रसारणलाइनमा जोडिने अवस्थामा पुगेको छ । निजी क्षेत्रबाट जिल्लामा निर्माणाधीन आयोजना मध्ये सबैभन्दा बढी भौतिक प्रगति भएको आयोजनामा गौरीशंकर गाउँपालिका–७, मार्बुमा निर्माणाधीन खानीखोला–१ जलविद्युत् आयोजना हो । ग्रिनलाइन इनर्जी कम्पनीले निर्माण गरिरहेको ४० मेगावाट क्षमताको यो आयोजनाको हालसम्म ९५ प्रतिशत भौतिक प्रगति भएको छ । सिंगटी–लामोसाँघु १३२ केभीको प्रसारणलाइन समयमा नबन्दा ३ वर्षअघि नै पूरा गर्ने लक्ष्य रहेको आयोजनामा ढिला हुन पुगेको प्रवद्र्धकको भनाइ छ ।

सिंगटीखोला हाइड्रो इनर्जी कम्पनीले निर्माण गरिरहेको २५ मेगावाट क्षमताको सिंगटीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य ८२ प्रतिशत सकिएको छ । योे आयोजनाले साउनदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको आयोजना प्रमुख मनोहरी सापकोटाले जानकारी दिए ।
अन्नपूर्णबाट

Logo