अन्ततः प्रधानमन्त्रीको बोली असंसदीय ठहर, अभिलेखबाट हटाइयो

अन्ततः प्रधानमन्त्रीको बोली असंसदीय ठहर, अभिलेखबाट हटाइयो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

प्रतिनिधिसभाको शुक्रबारको बैठकले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जबाफ दिने क्रममा प्रधानमन्त्रीले बोलेका असंसदीय शब्द अभिलेखबाट हटाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जबाफ दिने क्रममा ‘निम्छरो’ शब्द प्रयोगप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षीले नाराबाजी गरेको थियो ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा छलफलमा उठेका प्रश्नको जबाफ दिएपछि प्रधानमन्त्रीलाई पुनः सोधिएका प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्री ओलीले ‘आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिहरू वास्ता नगरेर प्रश्नको जवाफ दिन्छु’ भन्ने शब्दावली प्रयोग गरेका थिए । त्यसपछि प्रमुख प्रतिपक्षी कांग्रेसले आपत्ति जनाउँदै यो शब्दावली अभिलेखबाट हटाउन माग गरेको थियो ।

प्रतिनिधिसभाको शुक्रबारको बैठक सुरुमै सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीले स्पष्टीकरण दिने क्रममा प्रयोग भएका संसदीय मर्यादा प्रतिकूलका शब्द रेकर्डबाट हटाइएको मात्र बताए तर कुन शब्द भन्ने खुलाएनन् । संसदीय अभ्यासमा कुन शब्द रेकर्डबाट हटाइएको हो, त्यो खुलाउनु पर्ने हुन्छ ।

‘अस्ति मेरो ध्यानाकर्षणको विषयमा नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले स्पष्टीकरण तथा माननीय सदस्यको जिज्ञासाको उत्तर दिने क्रममा प्रयोग भएका संसदीय मर्यादा अनुकूल नभएका शब्द अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिन्छु’, सभामुखले बैठकमा भने ।

सभामुखको निर्देशन अस्पष्ट भएपछि सत्तापक्षका सांसद खगराज अधिकारीले त्यो दिन संसदमा गैरसंसदीय शब्द धेरै प्रयोग भएको भन्दै ती सबै अभिलेखबाट हटाउन माग गरेका थिए । अधिकारीले भने, ‘त्यस दिन यो संसदमा गैरसंसदीय शब्दहरु धेरै प्रयोग भएका छन् । ती सबै शब्द रेकर्डबाट हट्नुपर्छ भन्ने ध्यानाकर्षण गराउन चाहन्छु ।’ सांसद अधिकारीको भनाइपछि सभामुख महराले ‘यो सबैलाई भनेको हो’ भनी प्रस्ट्याएका थिए ।

असंसदिय शब्द हटाइएको इतिहास यस्तो

संसदमा प्रधानमन्त्रीले बोलेका शब्द अभिलेखबाट हटाइएको यो पहिलोपटक भएको सांसदहरुको भनाइ छ । २०४८ सालपछि निरन्तर निर्वाचित सांसद हृदयश त्रिपाठीले भने, ‘मन्त्री र सांसदले बोलेको शब्द गैरसंसदीय भनेर रेकर्डबाट हटाइएको इतिहास छ तर प्रधानमन्त्रीले बोलेको कुरा रेकर्डबाट हटाएको थाहा छैन ।’ २०६३ सालमा पुनस्र्थापित प्रतिनिधिसभा बैठकमा तत्कालीन माओवादी सांसद लोकेन्द्र बिष्टले संसद्भित्रै पेस्तोल लिएर आउने चेतावनी दिएका थिए । उनले बोलेको सो वाक्य तत्कालीन सभामुख सुवास नेम्वाङले अभिलेखबाट हटाउन लगाएका थिए ।

यस्तै २०६४ सालमा गठित संविधानसभा बैठकमा तत्कालीन माओवादीका सांसद गोपाल किरातीले ‘संविधान जारी गर्न नदिए नदिनेलाई खरानी बनाएर खरानीमाथि संविधान जारी गर्ने’ अभिव्यक्ति दिएका थिए । संविधानसभाका तत्कालीन अध्यक्ष सुवास नेम्वाङले सो शब्द तत्कालै अभिलेखबाट हटाएका थिए ।

संविधानसभाको पहिलो निर्वाचनपछि व्यवस्थापिकाको हैसियतमा बसेको संसद् बैठकमा राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले ‘६ सय एक सांसद, भेडीगोठ जस्तो भयो, संविधान बनाउन सकेन भन्ने अभिव्यक्ति दिएपछि उनले बोलेको ‘भेडीगोठ’ शब्द अभिलेखबाट हटाइएको थियो । २०१६ सालमा पनि एकजना सांसदले ‘नालायक’ शब्द प्रयोग गरेपछि तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराईले सो शब्द अभिलेखबाट हटाउन लगाएका थिए ।

यसपटक प्रधानमन्त्री ओलीले प्रयोग गरेको ‘निम्छरो’ शब्दको अर्थ नेपाली बृहत् शब्दकोशमा कमजोर, नाजुक, निम्नस्तरको भनी अथ्र्याइएको छ । यस्तै प्रतिपक्षले प्रयोग गरेको ‘पाखण्डी’ शब्दको अर्थ कुकर्ममा चल्ने, ध्रुत भनी बृहत् शब्दकोशमा उल्लेख गरिएको छ ।
नागरिकबाट

Logo