राजधानीमा तरकारी पोहोर भन्दा दोब्बर महँगो

राजधानीमा तरकारी पोहोर भन्दा दोब्बर महँगो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

सरकारले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण भएको दाबी गरिरहँदा बजारमा अधिकांश तरकारीको भाउ पोहोर भन्दा दोब्बर महँगो भएको छ । तरकारीको मूल्य अचाक्लि वृद्धि हुँदा भान्छा चलाउन हम्मे परेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गतवर्षको तुलनामा तरकारीको भाउ १४३ प्रतिशतसम्म बढेको छ । गतवर्ष मात्र नभएर गत महिना (चैत) सँग तुलनामा गर्दा पनि भाउ अत्याधिक वृद्धि भएको हो।

निरन्तर वषातले तरकारी नष्ट हुँदा उत्पादनमा ह्रास, अफ सिजन, मागको आधारमा तरकारी उत्पादन नहुनु लगायतका कारणले तरकारीको भाउ बढेको व्यापारी बताउँछन् ।

भान्छामा दैनिक रुपमा प्रयोग हुने गोलभेंडाको मूल्य किलो मै ५० रुपैयाँ बढेको छ । गतवर्ष वैशाख अन्तिम साता ३५ रुपैयाँ किलो बिक्री भएको गोलभेंडा विहीवार ८५ रुपैयाँ किलोमा बिक्री भएको छ । गोलभेंडा गतवर्ष मात्र नभएर यो गत महिना भन्दा पनि किलोमा ४० रुपैयाँ बढेको हो ।

बिहीबार कालीमाटीमा गोलभेंडा ४५ रुपैयाँ किलो बिक्री भएको छ । गोलभेंडा मात्र नभएर काउली, बोडी, भिण्डी, सिमी, परवल लगायत तरकारीको भाउ एक सय प्रतिशतभन्दा धेरै बढेको छ । स्थानीय काउलीको मूल्य एक सय ११ प्रतिशतले बढेको छ । गत वर्ष ४५ रुपैयाँ किलो बिक्री भएको काउली अहिले बढेर ९५ रुपैयाँ पुगेको छ ।

कालीमाटी तरकारी बजारका अनुसार गत वर्षको तुलनामा बोडीको मूल्य ३५ रुपैयाँबाट ८५, सिमी ४५ बाट ९५, परवल, भिण्डी ४५ बाट ९५ रुपैयाँ किलो पुगेको छ । भन्टा ५५ बाट बढेर ७५ रुपैयाँ किलो, तितेकरेला ४५ बाट ८५, लौका ४५ बाट ७५, चिचिन्डो ५५ बाट ८५, घिरौंला ५५ बाट ८५ रुपैयाँ पुगेको छ । रायो साग किलोको ६५ बाट ९५, ब्रोकाउली ६५ बाट बढेर एक सय १५ रुपैयाँ पुगेको कालीमाटी तरकारी बजार समितिले जनाएको छ । सबै हरियो तरकारीको मूल्य बढे पनि आलु, प्याज, बन्दाको मूल्य भने यथावत छ । गाजरको मूल्य घटेको छ ।
नागरिकबाट

Logo