धर्म संस्कारका नाममा गाउँलेले बहिष्कार गरेपछि परिवार नै विस्थापित

धर्म संस्कारका नाममा गाउँलेले बहिष्कार गरेपछि परिवार नै विस्थापित

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज

निधन भएका बुबाको अन्त्येष्टिमा कपाल नखौरिएको र हिन्दु परम्परा अनुसार १३ दिने काजकिरियाको संस्कार नगरेको भन्दै गाउँलेले सामाजिक बहिष्कार गरेपछि बाराको एक परिवार गाउँ छोड्न बाध्य भएको छ ।

बाराको सुवर्ण गाउँपालिका ६ धरमपुर गाउँका अवधेश यादवका बुबा अनुठा यादवको वैशाख १५ गते कलैया अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

६१ वर्षीया अनुठाको हृदयघातका कारण उपचारका क्रममा निधनपछि उनका दुई छोरा अवधेश र पप्पुले आफ्नो घरपरिवारले अपनाउँदै आएको कविरापन्थी धर्म अनुसार सात दिनमै किरियाकर्म सकेका थिए । बुबाको अन्त्येष्टिमा दुवै छोराले कपाल खौरिएका थिएनन् ।

बुवाको काजकिरिया सामाजिक परम्परा र हिन्दु धार्मिक रीतिरिवाज अनुसार नगरेपछि गाउँका अगुवाले गाउँमा भेला गरेर परिवारलाई नै सामाजिक बहिष्कार गरेका हुन् । गाउँले भेला भएर सामाजिक बहिष्कार गर्ने उर्दी जारी भएपछि परिवार नै गाउँ छोड्न बाध्य भएको हो ।

यादव परिवार अहिले हेटौंडाको कमानेमा बस्दै आएको छ । ‘मेरो बुबाले ५० वर्षदेखि कबिरापन्थी धर्म अपनाउदै आउनु भएको थियो’, अवधेशले भने, ‘बुबाकै इच्छा अनुसार हामी दुई दाजुभाइले अन्त्येष्टिका दिन कपाल खौरिएनौँ, १३ दिने करिया पनि बसेनौँ ।’

स्थानीय विद्यानन्द यादव, हृदयनारायण राउत, भरोसी राउत, गणेश यादव, मुन्सी यादव, वैद्यनाथ गिरी, श्री निवास बरै, रामाधार राउत सहितकाले गाउँले बोलाएर परिवारलाई सामाजिक बहिष्कार गर्न उर्दी जारी गरेको अधवेशले बताए ।
अन्नपूर्णबाट

Logo