लिभरपुलको अप्रत्यासित कमब्याक, बार्सिलोना स्तब्ध

लिभरपुलको अप्रत्यासित कमब्याक, बार्सिलोना स्तब्ध


बार्सिलोनालाई स्तब्ध बनाउदै लिभरपुल च्यापियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

अप्रत्यासित कमब्याक गर्ने क्रममा लिभरपुलले गएराती दोस्रो लेगको खेलमा आफ्नो घरेलु मैदान एनफिल्डमा बार्सिलोनालाई ४–शून्य गोलले पराजित गरेको हो । पहिलो लेगमा बार्सिलोना तीन–शून्यले विजयी भएको थियो । दोस्रो लेग पनि बार्सिलोनाले जित्दै फाइनलमा प्रवेश गर्ने अनुमान गरिएको थियो ।

खेलको पहिलो हाफमा डिभोक ओरिगीले गोल गर्दै लिभरपुललाई  एक–शून्यको अग्रता दिलाएका थिए । दोस्रो हाफमा लिभरपुलले झन् उत्कृष्ट खेल प्रदर्शन गर्यो । वाइनाल्डमले १ सय २२ सेकेण्डभित्र लिभरपुलका लागि दुइ गोल थपे भने ओरिगीले खेलको अन्त्यतिर  ब्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै अप्रत्यासित कमब्याक गराए ।

सुपरस्टार खेलाडी लियोनेल मेस्सिको जादूमा पहिलो लेग जितेको बार्सिलोनाले सोही अनुरुप दोस्रो लिग खेल्न सकेन र च्याम्पियन्स लिगको सेमिफाइनलमा रोकियो ।

यसअघि, सन् २००५ को फाइनलमा एसी मिलानविरुद्ध पहिलो हाफमा तीन गोलले पछि रहेर पनि दोस्रो हाफमा लिभरपुल खेलमा फर्किदै च्याम्पियन्स लिगको उपाधी जितेको थियो ।

अब फाइनलमा लिभरपुलले अर्को इङलिस टोली टोटेनहम र डच टोली आयाक्सविचको विजेतासंग प्रतिशपर्धा गर्नेछ । पहिलो लेगमा आयाक्सले टोटेनहमलाई एक–शून्यले पराजित गरेको थियो । यी दुइविचको दोस्रो लेग आज राती आयाक्सको घरेलु मैदानमा देखिंदैछ ।

Logo