काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन गरिएको छ । गृह मन्त्रालयमा सोमबार बसेको बैठकले आगामी जेठ १५ गते गणतन्त्र दिवस मनाउने सिलसिलामा जेठ १४ देखि १६ गतेसम्म विविध कार्यक्रम गरी देशभित्र र देशबाहिर नेपाली नियोगमा दिवस मनाउने निर्णय गरेको हो ।
प्रधानमन्त्रीको अध्यक्षतामा गठित समितिमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वराष्ट्रपति, मन्त्री, पूर्वप्रधानमन्त्री लगायत रहनु भएको छ ।
बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको संयोजकत्वमा काठमाडौँ, ललितपुर, भक्तपुरका जिल्ला समन्वय समितिका प्रमुख, सञ्चार मन्त्रालयका सचिव, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक, नेपाल टेलिभिजन र गोरखापत्र संस्थानका अध्यक्ष, रेडियो नेपालका कार्यकारी निर्देशक लगायत रहेको प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।
त्यस्तै काठमाडौँका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ग्राउण्ड, कवाज, व्यायाम तथा झाँकी व्यवस्थापन उपसमिति र काठमाडौँ महानगरपालिकाका प्रमुखको संयोजकत्वमा मञ्च सजावट तथा मञ्च व्यवस्था उपसमिति गठन गरिएको छ ।
बैठकले जेठ १४ गते केन्द्र, प्रदेश तथा स्थानीय तहका सरकारी कार्यालयले राष्ट्रिय झण्डा तथा ब्यानर सजाई आआफ्नो कार्यालय तथा नगरेको शुङ्गार तथा सरसफाइ गर्ने, गणतन्त्र दिवस मनाउन सञ्चारमाध्यमलाई सार्वजनिक अनुरोध गर्ने, सञ्चारमाध्यमबाट गणतन्त्र सम्बन्धी लेखरचना, स्मारिका प्रकाशन गर्ने र साँझ दीपावली गर्ने कार्यक्रम तय गरेको छ ।
गोरखापत्रबाट





























प्रतिक्रिया