विराटनगर
दुईतिहाइले प्रदेश १ को राजधानी विराटनगर बनाउने प्रस्ताव सोमबार पारित भएको छ । प्रदेशसभाको हिजोको बैठकमा कूल ९३ जना प्रदेशसभा सदस्यमध्ये उपस्थित ८६ सदस्यले प्रस्तावको पक्षमा मतदान गरे भने विपक्षमा कुनै मत परेन ।
नेपालको संविधानको धारा ८८ (२) र प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ५८ क (१७) (पहिलो संशोधनद्वारा संशोधित) बमोजिम प्रदेशको राजधानी सम्बन्धी प्रस्ताव नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले पेश गरेका थिए ।
सो सम्बन्धमा प्रदेशसभाको बैठकमा चार वटा प्रस्ताव दर्ता भएको थियो । विराटनगरकै लागि नेपाली काङ्ग्रेसका तर्फबाट प्रदेशसभा सदस्य केदार कार्की, धनकुटाका लागि सदस्य लीला सुब्बा तथा धनकुटाकै लागि निरन राईले दर्ता गराएको प्रस्ताव फिर्ता लिएपछि उक्त प्रस्ताव दुई तिहाइले पारित भएको हो ।
बैठकमा प्रदेशको स्थायी राजधानीका लागि बनेको नियमावली पनि आजैबाट निलम्बन पनि भएको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिएका छन् । सो नियमावली निलम्बन गर्न सदस्य बुद्धिकुमार राजभण्डारीको प्रस्तावमा सदस्य जयराम यादवले समर्थन जनाएका थिए ।
प्रदेश नं १ को स्थायी राजधानी विराटनगर नै भनिए पनि कार्यपालिका र व्यवस्थापिकाका लागि बन्ने नयाँ संरचना सुनसरीको इटहरी, सुन्दरहरैंचा र विराटनगर आसपास क्षेत्रमा बन्ने प्रस्तावको कैफियतमा उल्लेख छ । प्रदेश १ को नाम भने टुंगो लगाउन बाँकी छ ।





























प्रतिक्रिया