काठमाडौं । यातायात व्यवस्था कार्यालय, इटहरीका सुरेश अधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरिएको छ । झण्डै ६ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखापाल अधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा हालेको हो ।
जागिर अवधिमा उनको बैध आम्दानी ८८ लाख ३४ हजार ८ सय ८५ रुपैयाँ मात्र थियो । तर, उनको परिवारले गरेको खर्च र लगानी ५ करोड ९८ लाख ६८ हजार ५ सय ८ देखिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।
५ करोड १० लाख ३३ हजार ६ सय २३ रुपैयाँ अवैध आम्दानी गरेको दाबीसहित अख्तियारले मुद्दा हालेको हो । रोचक कुरा त के भने जुन अवैध आम्दानी थियो त्यो चार वटा श्रीमतीको नाममा खर्च गरेको देखिन्छ ।
जबकी नेपालको कानूनअनुसार दोस्रो विवाह समेत गर्न पाईदैन् । अवैध आम्दानी चार श्रीमतीहरु दुर्गा अधिकारी, दीपा श्रेष्ठ (अधिकारी), सुस्मिता अधिकारी, सोममाया श्रेष्ठ, सासु पुष्पकुमारी निरौला र मामा बलराम शर्माकोे नाममा घरजग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद र बैंकमा रकम राखेको पाइएको छ ।
अख्तियारले अधिकारीसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । २०५९ असोज १६ गते रोल्पाको तेवाङ गाविसको सचिवबाट सरकारी सेवा सुरु गरेका उनले २०६० जेठ २६ देखि २०६५ चैतसम्म नेपाल टेलिकमको चौथो तहको सहायक स्तरको पदमा काम गरेका थिए ।
२०६५ चैतमा लोक सेवा आयोगको परीक्षा उतीर्ण गरेका उनी कोष तथा लेखा नियन्त्रक कार्यालय भोजपुरमा काम गरेका थिए । २०६७ चैत २० देखि २०७४ वैशाख ६ गतेसम्म यातायात व्यवस्था कार्यालय कोशीको लेखापाल थिए ।





























प्रतिक्रिया