रातो मछिन्द्रनाथको मुर्ति रथारोहण

रातो मछिन्द्रनाथको मुर्ति रथारोहण

केन्द्रबिन्दु
0
Shares

ललितपुर

ललितपुरको पुल्चोकमा रातो मछिन्द्रनाथको मुर्तिलाई रथारोहण गरिएको छ । सहकाल र वर्षाका देवता मानिने रातो मच्छिन्द्रनाथलाई आइतबार साँझ ६ बजेर ९ मिनेटमा रथारोहण गरिएको हो ।

ललितपुरको कटुवाल दहबाट मच्छिन्द्रनाथलाई कलशमा छोपेर विभिन्न विधिपूर्वक तःबहालस्थित मन्दिरमा महिलाले बोकेर ल्याई तान्त्रिक विधिद्वारा प्राण हालेपछि आठ पानेजुमध्ये चार चार जनाले पूजाआजा र बाजागाजासहित खटमा राखेर पुल्चोक पुर्‍याई रथमा विराजमान गराइएको हो ।

मच्छिन्द्रनाथ बोकिएको खट अगाडि मुख्य गुरुज्यू दाहिने हातमा ऊँ लेखेको ‘ज्वालान्याक’ नामक थाली आकारको भाँडो र बज्र बोकी बायाँ हातले शङ्खघण्टा बजाएर मच्छिन्द्रनाथ अघि हिँडाउने चलन भएको मन्दिरका ५८ वर्षीय पुजारी भुवनराज शाक्यले जानकारी दिए ।

नेपालको सबैभन्दा लामो जात्रा रातो मछिन्द्रनाथको जात्रा ललितपुरका बासिन्दाहरुले भव्यताको साथ मनाउँदै आएका छन् । यसवर्षको रथ जात्रा वैशाख २५ गतेदेखि शुरू हुनेछ ।

Logo