बुटवल । रुपन्देहीमा एक महिलाको शंकास्पद मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका १४ बिनायकपुरकी २५ वर्षीया लक्ष्मी खत्रीको शंकास्पद मृत्यु भएको हो । लक्ष्मीका माइतीपक्षले सासू-ससुरा र नन्दले हत्या गरेको आरोप लगाएका छन् । माइतीपक्षले प्रहरीमा जाहेरी दिने प्रयास गरेका छन्। तर, प्रहरीले लिन मानेको छैन् ।
लक्ष्मी शुक्रबार बिहान घरको दोस्रो तलाको बरण्डामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । मृत्युको अघिल्लो बिहान सासुले उनीमाथि कुटपिट गरेकी थिईन् ।
अर्घाखाँची गोखुङ्गा माइत भएकी लक्ष्मीको बिहे सात वर्षअघि भएको थियो। उनकी ६ वर्षकी छोरी छन्। श्रीमान रोजगारीका लागि दुबईमा छन् । बिहे गरेको ६ महिनादेखि नै सासुले आफुमाथि दुव्र्यवहार गर्ने गरेको माइती पक्षलाई बताउँदै आएकी थिईन् ।
दाइजो कम ल्याएको भन्दै सासुले कुटपिट गर्दै आए पनि उनले बाहिर नबताएको बुवा डोमबहादुर खत्रीले बताए। ‘छ महिनादेखि नै सासुले दाइजो कम ल्याइस भन्दै हेला गरेको बताएकी थिई’, उनले भने–‘यस्तो गर्लान भन्ने सोचेकै थिएनौं।’
बिहीबार मात्रै सासुको कुटाईबाट घाइते भएकी लक्ष्मीले स्थानीय मेडिकलमा उपचार गराएकी थिइन्। बिहीबार दिउँसो नै उनले स्थानीय सिर्जनशील आमा समूहका पदाधिकारीलाई भेटेर न्याय दिन माग गर्दै बैठक बस्न आग्रह गरेकी थिइन।
मृत्युको अघिल्लो साँझ लक्ष्मीले फेसबुकमा आफ्ना पति अमृत खत्रीलाई ट्याग गर्दै ‘कतिबेला हुन्छ शरीरको हत्या के थाहा’ भन्ने स्टाटस लेखेकी छन्। तर त्यो स्टाटस अहिले डिलिट गरिएको छ। माइती पक्षले नन्द वा श्रीमानले हटाएको हुनसक्ने बताएका छन्।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी डिलबहादुर मल्लले सासु-बुहारीबीच झगडा भएको र हत्या गरेर झुण्ड्याएको माइती पक्षको आरोप रहेको जानकारी दिए। उनले घटनाको विषयमा अनुसन्धान थालिएको बताए।





























प्रतिक्रिया