कांग्रेसका छायामन्त्रीको सूची तयार

कांग्रेसका छायामन्त्रीको सूची तयार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

प्रमुख प्रतिपक्षी दल कांग्रेसले छाया सरकार गठनका लागि सांसदहरूबाट आवेदन मागेको चार महिनापछि सम्भावित मन्त्रीको नाम तय गरेको छ ।

२१ वटै मन्त्रालयमा छायामन्त्री बनाउने गरी नाम प्रस्ताव गरेको हो । गगन थापा, डा मीनेन्द्र रिजाल, ज्ञानेन्द्रबहादुर कार्की, डा नारायण खड्का, मानबहादुर विश्वकर्मा, बद्री पाण्डेलगायत नेता प्रस्तावित मन्त्रीको सूचीमा छन् । सभापति शेरबहादुर देउवाले अन्तिम टुंगो लगाएपछि छाया सरकार घोषणा गर्ने तयारी छ । यसबारे कांग्रेसका प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले देउवासँग छलफल गरेका छन् । प्रस्तावित नाममा सभापतिले सहमति जनाए शनिबार बस्ने संसदीय दलको बैठकबाटै मन्त्रीहरू घोषणा हुने कांग्रेस स्रोतले जनायो ।

‘हामीले सरकारका कामलाई नजिकबाट निगरानी गर्नका लागि छाया सरकार गठन गर्ने पूर्वघोषणा अनुसार सम्बन्धित मन्त्रालय हेर्ने संयोजकको लगभग टुंगो लगाएका छौँ,’ कांग्रेस स्रोतले भन्यो, ‘घोषणा हुँदासम्म तोकिएका नाममा मन्त्रालयको हेरफेर हुन सक्छ, तर नाम भने यिनै हुनेछन् ।’

गत २४ पुसमा बसेको पार्टी संसदीय दलको बैठकले छाया सरकार बनाउने औपचारिक निर्णय गर्दै इच्छाएका तीन मन्त्रालयको नाम पेस गर्न सांसदहरूलाई भनेको थियो । ३० भन्दा बढी सांसदहरूले गरेको प्रस्तावका आधारमा कांग्रेसले छायामन्त्रीको सूची तयार गरेको हो ।
नयाँ पत्रिकाबाट

Logo