काठमाडौं
माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको संरचना तथा उपकरणहरुको परीक्षण सम्पन्न भएको छ । आयोजनाबाट विद्युत् उत्पादन शुरु गर्नुभन्दा पहिला गर्नुपर्ने सम्पूर्ण परीक्षण सम्पन्न भएको हो ।
विद्युत गृहमा रहेका उपकरणहरुबाट विद्युत् उत्पादन नगरी गरिने परीक्षण सम्पन्न भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । यस्तो परीक्षणमा सुरुङबाट आएको पानीलाई पेनस्टक पाइप हुँदै विद्युत् गृहमा रहेको टर्वाइनमा झारिन्छ र त्यसबाट जेनेरेटर, कन्ट्रोल प्यानेल लगायतका उपकरणहरु डिजाइन अनुसार चले/नचलेको हेरिन्छ तर विद्युत् भने उत्पादन हुँदैन ।
रसुवा र नुवाकोटमा निर्माण भइरहेको आयोजनाबाट ३० मेगावाट (पहिलो युनिट) विद्युत् मंगलबारबाट उत्पादनको लक्ष्य राखिएको थियो । तर आयोजनाका संरचना तथा त्यहाँ रहेका उपकरणहरुको परीक्षणमा समय लागेकाले व्यवसायिक रुपमा विद्युत् उत्पादन केही ढिलाइ भएको घिसिङले बताउनुभयो ।
‘विभिन्न समस्या झेल्दै रुग्ण बनेको आयोजनालाई निरन्तरको प्रयासबाट अब विद्युत् उत्पादन शुरु गर्न सक्ने अवस्थामा पु¥याएका छौं, नन्–लोड टेस्टिङ सफलतापूर्वक सम्पन्न भएको छ, अब सुरुङमा रहेको पानी खाली गरेर त्यहाँ चुहावट भए/नभएको हेरिन्छ, पानी खाली गर्न र भर्न ५/६ दिन लाग्छ, यसबीचमा अन्य काम पनि समानान्तर रुपमा अगाडि बढ्छन्,’ उहाँले भन्नुभयो –‘ वैशाखभित्रमा व्यावसायिकरुपमा एउटा युनिटबाट विद्युत् उत्पादन हुनेछ ।’
दोस्रो युनिट (३० मेगावाट) को असारभित्रमा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजनास्थलबाट काठमाडौंको मातातीर्थसम्मको २२० केभी प्रसारणलाइनको निर्माण सकिएको छ । कुल अनुमानित लागत १२ करोड ५८ लाख डलर रहेको आयोजना नेपाल सरकार एवम् प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भइरहेको हो ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया