धम्कीपूर्ण फोनका कारण निर्माण व्यवसायी त्रसित

धम्कीपूर्ण फोनका कारण निर्माण व्यवसायी त्रसित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायीमाथि धम्कीपूर्ण फोन आइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

महासंघले मंगलबार पत्रकार सम्मेलन गरी केही समययता निर्माण व्यवसायीलाई लक्षित गरी निरन्तर धम्कीपूर्ण फोन आइरहेको जानकारी दिएको हो। महासंघका अध्यक्ष रवि सिंहले कमजोर सुरक्षा व्यवस्थाका कारण निर्माण व्यवसायी आफ्नो पेशाबाटै पलायन हुनुपर्ने खतरा बढेको बताए ।

‘निर्माण व्यवसायीहरुलाई निरन्तर आइरहेको धम्कीका विषयमा सम्बन्धित निकायलाई समयमै जानकारी गराइँदासमेत कुनै सुनुवाइ भएन,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सिंहले भने, ‘लगातारको धाक धम्कीका कारण निर्माण व्यवसायीसँगै उनीहरुका परिवार, कार्यालयका कर्मचारीसमेत ठूलो त्रासमा बाँच्नु परेको छ ।’

सुरक्षा चुनौतीकै कारण मुलुकमा काम गर्ने वातावरण बिग्रँदै गएको उनको भनाइ छ । राज्य संयन्त्र कमजोर भएका कारण व्यवसायी ठूलो मारमा परेको उनले बताए । महासंघका पूर्वअध्यक्ष, कार्यसमितिका सल्लाहकार, पदाधिकारी लगायत अन्य निर्माण व्यवसायी सदस्य गरी करिब २५ जनालाई विगत केही समय अघिदेखि मोबाइलमा धम्कीपूर्ण भाषा प्रयोग गरी फोन आउने गरेको अध्यक्ष सिंहले जानकारी दिए । महासंघका वरिष्ठ उपाध्यक्ष निकोलास पाण्डेले धम्कीपूर्ण फोनबाट त्रासको वातावरण सिर्जना भई निर्माण व्यवसायीहरु आफ्नो साइटसमेत सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको बताए।
नागरिकबाट

Logo