ललितपुर
ललितपुर महानगरपालिकाले शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीको वार्षिक जन्मोत्सव मनाउने पहिलो दिन वैशाख ३० गते महानगर अन्तर्गतका सबै कार्यालय बन्द गर्ने घोषणा गरेको छ । सोमबार पत्रकार सम्मलेन गर्दै वर्ष दिनभरि गरिने कार्यक्रमको समय तालिकासहित महानगरले यस्तो घोषणा गरेको हो ।
जोशी वैशाख ३० गते ९९ वर्ष पार गरी सय वर्षमा प्रवेश गर्दैछन् । उनको जन्मोत्सवलाई लिएर महानगरले वर्षभरि विभिन्न कार्यक्रम गर्ने योजना बनाइसकेको महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जानकारी दिए । उनले जोशीको योगदानलाई कदर गर्दै त्यसको कदरस्वरुप महानगरले जन्मोत्सव मनाउन लागेको बताए ।
‘उहाँ राष्ट्रकै धरोहर हो, हामीले उहाँको नाममा जतिसुकै कार्यक्रम गरेपनि त्यो कम हुन्छ,’ उनले भने, ‘एउटा सर्जकलाई सम्मान गर्न हामीले २० लाख रकम छुट्याएर जन्मोत्सव मनाउन लागेका हौं ।’ मेयर महजर्नले सत्यमोहन जोशी राष्ट्रको महत्वपूर्ण निधि भएकोले उनको लागि महानगरले लगानी गरेको बताए ।
‘उहाँको अतुलनीय योगदानले राष्ट्रको कला, संस्कृति र साहित्य क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुगेको छ, नेपालको कला, संस्कृति र साहित्यमार्फत नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन उहाँको योगदान अतुलनीय छ,’ त्यसैले हामीले यस्तो कार्यक्रम गर्ने घोषणा गरेका हौं,’ उनले भने ।
पाटनको एउटा सामान्य परिवारमा जन्मिएका उनी अहिले पनि कला संस्कृति, साहित्यको अनुसन्धान र अध्ययनमा सक्रिय छन् । जन्मोत्सव मनाउन महानगरका मेयर महर्जनको संयोजकत्वमा एक सय ११ सदस्यीय समिति गठन पनि गरिएको छ । वैशाख ३० गते मंगलबजारबाट लगनखेल, जावलाखेल हुँदै सांस्कृतिक र्याली गरिने छ । सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सहभागी गराइने छ ।
नागरिकबाट





























प्रतिक्रिया