हुम्ला
हुम्लाको ताँजाकोट गाउँपालिकामा रुघाखोकीको प्रकोप रोक्न चिकित्सक र औषधिको टोली पुगेको छ । प्रकोप फैलिएको २० दिनपछि आइतबार सेनाको हेलिकोप्टरबाट चिकित्सक टोली ताँजाकोट पुगेको हो । हालसम्म रुघाखोकीबाट नौ जनाले ज्यान गुमाइसकेका छन् ।
ताँजाकोटमा रुघाखोकीबाट दुई सयभन्दा बढी बिरामी परेका छन् । यहाँ औषधिको चरम अभाव भएको थियो । सदरमुकामबाट ४५ कोस टाढाको यस गाउँमा १९ दिनसम्म कुनै सरकारले डाक्टर र औषधि पठाउन सकेको थिएन । सदरमुकामबाट ताँजाकोटसम्म पैदल पुग्न तीन दिन लाग्छ ।
प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल र कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलको आग्रहपछि गृह मन्त्रालयले हेलिकोप्टर पठाएको हो । ‘गृह मन्त्रालयले हेलिकोप्टर उपलब्ध गराएपछि विशेषज्ञ टोली सामाजिक विकास मन्त्रालयले पठाएको हो,’ मन्त्री रावलले भने । औषधि उपकरण र स्वास्थ्यकर्मी लैजान हेलिकोप्टरले सुर्खेतदेखि ताँजाकोटसम्म दुईपटक उडान भरेको थियो ।
आइतबार प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतबाट डा. तेजराज भट्टराई नेतृत्वको टोली ताँजकोट पुगेको हो । टोलीमा चार जना डाक्टरसहित ल्याब टेक्निसियन र स्वास्थ्यकर्मी छन् । डा. भट्टराई, डा. केएन पौडेल, डा. केशव अधिकारी र डा. मनोज तिमिल्सिना तथा हेल्थ असिस्टेन्ट बलभद्र यादव, ल्याब असिस्टेन्ट धर्म अधिकारीसहितको टोलीले प्रकोपस्थल पुगे लगत्तै उपचार सुरु गरेको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीले बताए ।
टोलीले सञ्चालन गरेको स्वास्थ्य शिविरमा आइतबार एक सय ५० बिरामीको जाँच गरिएको छ । ती मध्ये अधिकांशमा रुघाखोकी देखिएको उपचारमा संलग्न डाक्टरले जानकारी दिएका छन् ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया