महिलाको ज्यान गएको स्कूटर प्रहरीले सुटुक्क धनीलाई बुझाएपछि…

महिलाको ज्यान गएको स्कूटर प्रहरीले सुटुक्क धनीलाई बुझाएपछि…

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । महिलालाई ठक्कर दिएर भागेको स्कूटर प्रहरीले सुटुक्क स्कूटर धनीलाई दिएको छ । ललितपुरको हरिसिद्धीमा महिलालाई ठक्कर दिएर भागेका स्कुटर चालकको खोजी गर्नुपर्नेमा प्रहरीले उल्टै सवारीसाधन धनीलाई दिएको हो । गत २३ माघमा बा ५० प २८४४ नम्बरको स्कुटरले ठक्कर दिँदा पैदलयात्रु दोलखा घर भइ गोदावरी–१४ बस्ने ५३ वर्षीया लक्ष्मी विक गम्भीर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा १५ दिनपछि ग्वार्कोस्थित वीएण्डबी हस्पिटलमा मृत्यु भएको थियो ।

घटनालगत्तै नियन्त्रणमा लिइएको स्कुटर महानगरीय प्रहरी वृत्त सातदोबाटोले सुटुक्क सवारीधनीलाई जिम्मा लगाएको हो । मृतककी छोरा विष्णु विश्वकर्माले प्रहरीले पीडित पक्षसँग कुरै नगरी स्कुटर बुझाएको बताईन् । दुर्घटनालगत्तै स्कुटर चालकले विकलाई हस्पिटलसम्म पुर्‍याएका थिए । तर, त्यहीँ स्कुटर छाडेर उनी फरार भएका थिए । यो थाहा पाएलगत्तै विश्वकर्माले विभिन्न निकायमा न्याय माग्दै उजुरी गरेका थिईन् ।

सातदोबाटो प्रहरीका प्रमुख नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रले लक्ष्मीलाई ठक्कर दिने स्कुटर दुर्घटना हुनुभन्दा केही दिनअघि नै चोरी भएको जानकारी दिए । घटना हुनुभन्दा १०र१५ दिनअघि नै स्कुटर चोरी भएको भन्दै सवारीधनीले महानगरीय ट्राफिक प्रहरी महाशाखामा निवेदन दिएका थिए । उक्त नियन्त्रणमा राखेको स्कुटरको धनी खोज्दा सुमित्रादेवी नामक महिलाको नाममा त्यो दर्ता देखिएको र उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा पहिल्यै चोरी सम्बन्धी जाहेरी दर्ता भएको खुलेको बताए ।

सातदोबाटो प्रहरीले स्कुटर छाडेको विषयमा उजुरी परेपछि हाल प्रहरी प्रधान कार्यालयले पनि छानबिन थालेको छ । प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज नेउपानेको नेतृत्वमा रहेको प्रहरी निरीक्षणालयले अनुसन्धान थालेको नेपाल प्रहरीले जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले प्रारम्भिक अनुसन्धानमा चोरीको स्कुटर भएकाले ‘राखिराख्नु भन्दा सम्बन्धित धनीलाई दिनु ठिक’ हुने भएकाले बुझाइएको देखिएको बताए । थप अनुसन्धान भईरहेको उनको भनाई छ ।

Logo