काठमाडौं
नेपाल–चीन सीमापार रेलमार्गसहितका परियोजना औपचारिक रूपमा नै विश्व नजरमा परेका छन् । बेइजिङमा बेल्ट एन्ड रोड (बिआरआई) फोरमको गोलमेच सम्मेलनमा सहभागी ३८ देशका राष्ट्रप्रमुखद्वारा शनिबार जारी संयुक्त वक्तव्यमा ‘नेपाल–चीन हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल’ ले स्थान पाएको छ । यसअघि बिआरआई अन्तर्गत नेपाल र चीनका कुनै परियोजना थिएनन् ।
गतवर्ष परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चीन भ्रमणमा आउँदा दुई देशबीच हिमालयपार बहुआयामिक सम्पर्क सञ्जालमा आधारित द्विपक्षीय सहकार्य गर्ने सैद्धान्तिक सहमति भएको थियो । ‘३८ देशका राष्ट्रप्रमुखहरूको संयुक्त वक्तव्यमा यो विषय परेपछि अब विश्वले हाम्रो र चीनको सम्पर्क सञ्जालको योजनाबारे थाहा पायो,’ चीनस्थित नेपाली दूतावासका उपप्रमुख सुशीलकुमार लम्सालले भने, ‘तर, सञ्जाललाई अघि बढाउन धेरै प्रक्रिया बाँकी नै छन्, संयुक्त वक्तव्यमा परेपछि कम्तीमा एउटा रेकर्ड भएको छ ।’
बिआरआई सम्मेलनको दोस्रो दिन शनिबार राष्ट्रसंघको २०३० ऐजेन्डा कार्यान्वयन गर्न हरित तथा दिगो विकास प्रवद्र्धन विषयक गोलमेच सम्मेलन भएको थियो । सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले चीनले अघि सारेको बिआरआईको मर्म र भावना संयुक्त राष्ट्रसंघीय दिगो विकासका लागि २०३० एजेन्डासँग मेल खाएको बताइन् ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया