आगामी मनसुनमा औसतभन्दा बढी वर्षा हुने अनुमान

आगामी मनसुनमा औसतभन्दा बढी वर्षा हुने अनुमान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

दक्षिण एसियामा गतवर्षभन्दा यस वर्ष बढी मनसुनी वर्षा हुने भएको छ । मौसमी गतिविधिमा प्रत्यक्ष असर पार्ने एलनिनो र लानिनोमध्ये बढी वर्षा गराउने लानिनोको प्रभावका कारण यो क्षेत्रमा बढी वर्षा हुने विज्ञहरूले बताएका छन् ।

एलनिनोको प्रभावका कारण अघिल्लो वर्षमा कम मनसुनी वर्षा भएपनि यो वर्ष पूर्ण रूपमा एलनिनोको प्रभाव नभएको र लानिनोको प्रभाव बढी भएको हुँदा मनसुनी वर्षा बढी हुने पूर्वानुमान गरिएको छ । विश्व जल तथा मौसम संगठनको दक्षिण एसिया क्षेत्रीय मञ्च (सास्कोफ)ले दक्षिण एसिया क्षेत्रमा लानिनोको प्रभाव बढी भएकाले वर्षा बढी हुने निष्कर्ष निकालेका हुन् । आगामी मनसुनी अवस्थाको विषयमा छलफल गर्न हरेक वर्ष हुने सास्कोफ बैठकले नियमित मनसुनी वर्षाभन्दा बढी वर्षा हुने निष्कर्ष निकालेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

‘लानिनोको प्रभाव बढ्दो रूपमा रहेको हुँदा त्यसैको प्रभावले आगामी मनसुनमा बढी वर्षा हुने निष्कर्ष निकालिएको हो,’ मौसमविद् पौडेलले भने, ‘पछिल्लो समयमा मौसमी गतिविधिमा आएको परिवर्तनका कारण मनसुनको समयमा एकैपटक ठूलो मात्रामा पानी पर्ने र पुनः रोकिएर केही दिन घाम लाग्ने समस्या भने कायमै रहन्छ ।’ उनले यस्तो अवस्थामा हुने वर्षाले कृषि क्षेत्रमा राम्रो गरेपनि मनसुनको समयमा बाढी पहिरोको प्रकोप बढ्न सक्ने बताए । विश्व जल तथा मौसम संगठनले अघिल्लो वर्ष अत्यधिक गर्मी बढेको वर्षका रूपमा घोषणा गरेको थियो । उसले मौसममा भएको फेरबदल तथा जलवायु परिवर्तनको प्रभावका कारण औसतमा १ डिग्री सेल्सियस तापक्रम बढी भएको बताएको थियो । यो वर्ष दक्षिण एसियामा औसतभन्दा बढी वर्षाको सम्भावनासँगै तापक्रम वृद्धिका कारण प्राकृतिक विपद्को घटना भने बढ्न सक्ने निष्कर्ष निकालिएको छ ।
राजधानीबाट

Logo