काठमाडौं
मुलुकमा नौ लाख युवामात्रै बेरोजगार रहेको तथ्याङ्क सार्वजनिक भएको छ। केन्द्रीय तथ्याङ्क विभागले एक वर्ष लगाएर गरेको तेस्रो नेपाल श्रम शक्ति सर्वेक्षण २०७४/७५ ले नेपालमा १५ वर्ष वा सोभन्दा बढी उमेर समूहको जनसङ्ख्यामध्ये नौ लाख आठ हजार व्यक्ति बेरोजगार रहेको देखाएको छ। जसमध्ये पाँच लाख ११ हजार पुरुष र तीन लाख ९७ हजार महिला छन्। बेरोजगारमध्ये बसोबासका आधारमा छ लाख ४० हजार शहरी क्षेत्रमा र दुई लाख ६८ हजार ग्रामीण क्षेत्रमा छन्।
शुक्रवार सार्वजनिक गरिएको सर्वेक्षणमा नेपालको बेरोजगारी दर ११.४ प्रतिशत देखाएको छ। पुरुषको तुलनामा महिलामा बेरोजगारीको दर बढी रहेको पाइएको छ। पुरुषको र महिलाको बेरोजगारी दर क्रमशः १०.३ र १३.१ प्रतिशत छ। यसैगरी शहरमा ११.६ प्रतिशत र ग्रामीण क्षेत्रमा १०.९ प्रतिशत बेरोजगारी छ।
त्यस्तै १५ वर्ष वा सोभन्दा बढी उमेर समूहको दुई करोड सात लाख ४४ हजारमध्ये ७० लाख ८६ हजार जनसङ्ख्या कुनै न कुनै रोजगारीका क्षेत्रमा रहेको पाइएको छ। यसमा ४४ लाख ४६ हजार पुरुष र २६ लाख ४० हजार महिला छन्। रोजगारीका क्षेत्रमा रहेको जनसङ्ख्या काम गर्ने उमेर समूहअन्तर्गतको जम्मा जनसङ्ख्याको ३४.२ प्रतिशत रहेको छ।
यसैगरी बसोबासको आधारमा रोजगारीका क्षेत्रमा रहेको जनसङ्ख्यामध्ये ४९ लाख एक हजार शहरी क्षेत्रमा रहेको र २१ लाख ८५ हजार ग्रामीण क्षेत्रमा रहेको सर्वेक्षणले देखाएको छ। जम्मा रोजगारीमा रहेको जनसङ्ख्यामध्ये ६९ प्रतिशत शहरमा र ३१ प्रतिशत ग्रामीण क्षेत्रमा छन्। रोजगारीमा रहेको पुरुषमध्ये शहरमा ६८ र ग्रामीण क्षेत्रमा ३२ प्रतिशत छन्। यसैगरी रोजगारीमा रहेका महिलामध्ये ७० प्रतिशत शहरमा र ३० प्रतिशत ग्रामीण क्षेत्रमा रहेको पाइएको छ।
नागरिकबाट





























प्रतिक्रिया