अर्थतन्त्रको आकार ३४ खर्ब ६४ अर्ब : प्रतिव्यक्ति आय १०४७ डलर

अर्थतन्त्रको आकार ३४ खर्ब ६४ अर्ब : प्रतिव्यक्ति आय १०४७ डलर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

चालु आर्थिक वर्षमा अर्थतन्त्र ६.८१ प्रतिशतले विस्तार भई अर्थतन्त्रको आकार ३४ खर्ब ६४ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

केन्द्रीय तथ्यांक विभागले चालु वर्षको अनुमान सार्वजनिक गर्नुका साथै अघिल्लो दुई आर्थिक वर्षको संशोधित र अन्तिम वृद्धिदर समेत सार्वजनिक गरेको छ । विभागका अनुसार २०७४/७५ मा ६.३ प्रतिशत आर्थिक वृद्धिदर हासिल भएको संशोधित अनुमान छ भने त्यसभन्दा अघि २०७३/७४ मा ७.७४ प्रतिशत आर्थिक वृद्धिदर हासिल भएको थियो।

चालु आर्थिक वर्षमा अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान अझै बढ्ने अनुमान गरिएको छ । कुल गार्हस्थ उत्पादन (जीडीपी) मा सेवा क्षेत्रको योगदान ५७.८१ प्रतिशत, द्वितियक क्षेत्र भनिने उद्योग, निर्माण, विद्युत्, ग्यास र पानीको योगदान १४.६ प्रतिशत र प्राथमिक क्षेत्रको (कृषि, वन, मत्स्य, खानी र खनिज) क्षेत्रको योगदान २७.५९ प्रतिशत रहने अनुमान गरिएको छ। प्राथमिक क्षेत्रको योगदान केही घट्ने र सेवा क्षेत्रको योगदान बढ्ने विभागको अनुमान छ।

चालु आर्थिक वर्षमा नवनिर्माण र पुनर्निर्माणले आर्थिक वृद्धिदरमा ठूलै टेवा दिने सरकारी अपेक्षा रहे पनि निर्माण क्षेत्रको अर्थतन्त्रमा योगदान ८ प्रतिशतभन्दा कम छ ।

अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेटमा ८ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य राखेको थियो । बजेटको मध्यावधि समीक्षाका क्रममा बजेटको आकार १३ खर्ब १५ अर्ब रुपैयाँबाट ११ खर्ब ९९ अर्ब रुपैयाँमा झारे पनि अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वृद्धिदर भने ७ देखि ८ प्रतिशतको बीचमा हुने बताएका थिए। विश्लेषकले भने आर्थिक वृद्धिदरको लक्ष्य नै व्यावहारिक नभएको बताउँदै आएका छन्।

प्रतिव्यक्ति आय १०४७ डलर

अर्थतन्त्रको आकारमा विस्तारसँगै नेपालीको प्रतिव्यक्ति आय पनि बढेको छ । प्रत्येक नेपालीको औसत वार्षिक आम्दानी १,०४७ अमेरिकी डलर पुगेको छ । अहिलेको मूल्यमा हिसाब गर्ने हो भने प्रत्येक नेपालीले वर्षमा औसतमा कम्तीमा १ लाख १७ हजार रुपैयाँ आर्जन गर्छन् । अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा प्रतिव्यक्ति आय १,००५ अमेरिकी डलर थियो भने त्यसअघि २०७३/७४ मा ८८७ डलर थियो।

त्यस्तै, चालु मूल्यमा कुल स्थिर पुँजी निर्माण १२ खर्ब ७९ अर्ब रुपैयाँ रहेको छ । जुन कुल गार्हस्थ उत्पादनको ३६ दशमलव ९३ प्रतिशत हो । त्यस्तै, नेपालले प्राप्त गर्ने विप्रेषणको आकार कुल गार्हस्थ उत्पादनको २६.४ प्रतिशत बराबर रहने अनुमान छ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo