४ वर्षमा ४७ हजार ८१५ धक्का, पश्चिममा अझै खतरा

४ वर्षमा ४७ हजार ८१५ धक्का, पश्चिममा अझै खतरा

केन्द्रबिन्दु
0
Shares

आज बैशाख १२ गते। चार वर्ष अघि (२०७२) मा आजकै दिन गोरखा जिल्लाको बारपाक केन्द्र भएर ७.६ रेक्टरको शक्तिशाली भूकम्प गएको थियो। सन् १८३३ मा पनि यहि क्षेत्र भएर करिब ७ दशमलव ८ रेक्टरको भूकम्प गएको थियो।  त्यसपछि १७० वर्षको अवधिमा फेरि दोहोरिएर भूकम्प गएको हो ।

विनाशकारी भूकम्प गएको ४ बर्ष बित्दा पनि यसको परकम्पनहरु भने अझै रोकिएका छैनन् । बुधबार बिहान पनि २ पटक भूकम्पले धक्का दियो। पहिले धादिङको नौबिसे केन्द्र भएर ५.२ को भूकम्प गयो भने त्यसपछि ककनी क्षेत्र केन्द्र भई ४.३ रेक्टर स्केलको अर्को परकम्पन गयो । यो परकम्पनले धेरैलाई झस्कायो ।

अहिलेसम्म ४७ हजार ८१५ पटक परकम्पन गएको राष्ट्रिय भूकम्प मापनले जनाएको छ । बितेको ४ बर्षमा ४ रेक्टरभन्दा सानो ४६ हजार ६२६ वटा, ४ देखि५ रेक्टरका एक हजार ४७ वटा, ५ देखि ६ रेक्टरका १३५ वटा, ६ देखि ६‍ दशमलव ५ रेक्टरका  ६ वटा परकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। परकम्पनको बिस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।

कुनै क्षेत्रमा ठूलो भूकम्प गएपछि त्यहाँ जम्मा भएको शक्ति निस्क्रिय हुन्छ। फेरि त्यो शक्ति सञ्चय हुन लामो समय लाग्छ। हिमालय क्षेत्रमा आठ रेक्टर स्केल भन्दा ठूलो भूकम्प गयो भने त्यही आकारको अर्को ठूलो भूकम्प जान सातआठ सय वर्ष लाग्छ। तर, त्यो आठभन्दा सानो भूकम्प गयो भने चाहिँ कति वर्षमा ठेगान हुँदैन।

सिस्मोलोजिस्ट चिन्तन तिम्सिनाले अहिलेसम्म सबैभन्दा बढी दोलखा र सिन्धुपाल्चोक भएर परकम्पन गएको जानकारी दिए ।  उनले     चुरेको भूभागमाथि तिब्बतीय र भारतीय प्लेटको टकरावले शक्ति पैदा हुने भएकाले भूकम्पीय जोखिम रहेको बताए । तिम्सिनाले परकम्पन गैराख्नु नराम्रो नभएको बताए।

पश्चिममा खतरा

नेपालको पश्चिम क्षेत्रमा भूकम्प जाने सम्भावना अधिक रहेको विज्ञहरु बताउछन । पश्चिम नेपालमा सन् १५०५ पछि ठूलो भूकम्प भएको छैन। नेपालको पूर्वी, मध्य र पश्चिम क्षेत्रको अध्ययन गर्दा मध्य नेपालमा ८० देखि सय वर्षको अवधिमा ठूला भूकम्प गएको पाइन्छ ।

कति वर्षपछि फेरि अर्को भूकम्प जान्छ भनेर भन्न सक्ने तथ्याङ्क नभएपनि पश्चिममा लामो समयदेखि भूकम्प नगएकाले धेरै शक्ति सञ्चय भएको भूकम्पविदहरुको भनाई छ। त्यस्तै काठमाडौं उपत्यकाको दक्षिणी क्षेत्रमा पनि लामो समयदेखि शक्ति सञ्चय भइराखेको छ। सन् १८३३ र बि. स. २०७२ मा गएको भूकम्पले त्यस क्षेत्रको पूरै शक्ति बाहिर निकाल्न नसकेको विज्ञहरुको ठम्याई छ।

नेपालको मध्य क्षेत्रको मात्रै हामीसँग अभिलेख छ तर पूर्वी नेपाल र पश्चिम नेपालको अभिलेख छैन, आठ रेक्टरको भन्दा ठूलो भूकम्प भएपछि त्यसले सञ्चित शक्तिलाई बाहिर फालिदिन्छ।’ गोरखा, सिन्धुपाल्चोक आसपासको क्षेत्रमा नै आठ रेक्टर भन्दा ठूलो भूकम्प जाने सम्भावना कमै छ। गोरखाको पूर्वी र पश्चिमी क्षेत्रमा जहिले पनि भूकम्प जान सक्ने सम्भावना रहेको भूकम्पविदहरु बताउछन्  ।

Logo